
आगामी माघ २३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘रमिताको पिरती’को पहिलो रोमान्टिक गीत सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै दर्शकमाझ ल्याइएको ‘तिमी भए काफी’ बोलको गीतमा समीर श्रेष्ठको स्वर रहेको छ भने अडियो उत्पादन सास्वत श्रेष्ठले गरेका हुन् । गीतमा प्रेम र समर्पणको भावना व्यक्त छ ।
झोलेइज्मको डीओपी र झोलेको सम्पादन रहेको गीतको भिडियोमा फिल्मका मुख्य जोडी आना शर्मा र समीर श्रेष्ठलाई देख्न सकिन्छ । थाइल्यान्डमा छायांकन गरिएको भिडियोमा उनीहरूको प्रेम, रोमान्स र मस्तीलाई आकर्षक ढंगले प्रस्तुत गरिएको छ । भिडियोमा छायांकन पक्ष अब्बल देखिएको छ भने गीतको अडियो पनि सशक्त छ ।
सुदिप्ताले डेब्यु निर्देशनमा तयार भएको यस फिल्ममा आना र समीरसहित धीरज मगर, विनय श्रेष्ठ, गौमाया गुरुङ, पशुपति राई, रेनु योगीत, गियना, थिन्ले ल्हामो लगायतको अभिनय रहेको छ । सुदिप्ताकै लेखन रहेको फिल्ममा शिशिर विशाङ्खेको डीओपी, सुनिल सिवाकोटीको सम्पादन तथा कृतिका बरालको कोरियोग्राफी छ ।
आना शर्मा र सन्तोष लम्साल कार्यकारी निर्माता रहेको फिल्ममा आरपी प्रोडक्सन, गणेश पाण्डे, सुभाष कोइराला र प्रवेश लामिछाने एसोसिएट निर्माताको रुपमा छन् । फिल्ममा समीरसहित सुशान्त केसी, महेश काफ्ले, अस्मिता अधिकारी र कुशल पोखरेलको संगीत रहेको छ । फिल्मले एक युवतीको जीवन, संघर्ष, प्रेम र आरोह-अवरोहलाई प्रस्तुत गरेको छ ।

