चन्द्र पन्तको निर्देशनमा बनेको फिल्म ‘आ बाट आमा’को शीर्ष गीत सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण पक्षले ‘सृष्टिकै पहिलो नाम’ बोलको गीत दर्शकमाझ ल्याएको हो । रवि ओडको स्वर र बाबुल गिरीको शब्द तथा संगीत रहेको यस गीतले आमाको माया, समर्पण र छोराप्रतिको लगावलाई मर्मस्पर्शी रुपमा प्रस्तुत गरेको छ ।
गीतको भिडियोमा विपना थापा, प्रदीप रावत (गजनी भिलेन) र पल शाहलाई केन्द्रमा राखिएको छ । आमाको भूमिकामा रहेकी विपना छोराको यादमा तड्पिरहेकी देखिन्छन् भने पल आमा-बुबालाई खोज्दै भौतारिरहेका छन् । गीतले नै फिल्मको कथा आमा-छोराको सम्बन्धमा केन्द्रित रहेको प्रष्ट पार्छ । भिडियोमा साइग्रेस पोखरेल, सिम्रन पन्त र उषा उप्रेतीलाई पनि देख्न सकिन्छ ।
निर्देशक पन्त स्वयंको कथा र पटकथा लेखन रहेको फिल्ममा विशाल पहाडी, रवीन्द्र झा, गजित बिष्ट, हेमराज अधिकारी, दीलिप उखेडा, रचना गौतम लगायतको पनि अभिनय रहेको छ । आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा ओमकार पन्त, कृष्णप्रसाद सुवेदी, ध्रुव न्यौपाने, प्रकाश कुँवर र क्षितिज ढुङ्गाना निर्मातामा छन् ।
शहीद दिवसको सार्वजनिक विदा पारेर आगामी माघ १६ गतेबाट प्रदर्शनमा आउन लागेको यस फिल्ममा अमर न्यौपाने, अभिमन्यु निरवी र निर्देशक पन्तको संवाद लेखन, नवराज उप्रेतीको डिओपी, साहिल खान र मिलन श्रेष्ठको सम्पादन, कोशिश क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमको संगीत तथा गम्भीर विष्ट र दीलिप उखेडाको कोरियोग्राफी रहेको छ ।

