.jpg)
काठमाडौं महानगरपालिकाका प्रमुख तथा र्यापर बालेन्द्र शाह (बालेन)को र्याप गायनमा फिल्म ‘झरिपछिको इन्द्रेणी’को ओएसटी सार्वजनिक भएको छ । बालेन स्वयंको युट्युब च्यानलमार्फत सार्वजनिक ‘आम नेपाली बुवा’ बोलको गीतले बुबाको संघर्ष, जिम्मेवारी र सन्तानसँगको भावनात्मक सम्बन्धलाई चित्रण गरेको छ । गीतमा बालेन स्वयंको शब्द छ ।
चर्चित हास्य कलाकार अर्जुन घिमिरे (पाँडे)को निर्देशनमा बनेको फिल्ममा अर्जुनसहित गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, प्रियना आचार्य (मुन्नी), अंशु महर्जन, राजेन्द्र नेपाली लगायतको अभिनय रहेको छ । गणेशले यही फिल्मबाट ९ वर्षपछि कमब्याक गरेका हुन् ।
आगामी पुष ४ गतेबाट प्रदर्शनबाट आउन लागेको यो फिल्मबाट विमोचन दवाडी र जेसिका पोखरेलले डेब्यु गरेका छन् । जेसिका दीपाश्रीकी बहिनीकी छोरी हुन् । बाल कलाकारमा दिप्सन चिलवालको पनि अभिनय रहेको छ । फिल्मको एक गीतमा मोडल अञ्जली अधिकारी र कोरियोग्राफर प्रदीप लामाले नृत्य गरेका छन् ।
निर्देशक घिमिरे स्वयंको कथा रहेको फिल्मको पटकथा तथा संवाद गणेश कार्की र विशाल घिमिरेले तयार पारेका हुन् । अनिशा सेन्दाङ लिम्बू निर्मात्री रहेको फिल्मका छायाँकार बुद्ध थापा हुन् । फिल्ममा देशको वर्तमान राजनीतिक अस्थिरता, त्यसले जनतामा पारेको प्रभाव, र नयाँ पुस्ताका युवाहरूको आकांक्षा र आक्रोशलाई मुख्य कथावस्तु बनाइएको छ ।

