Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बेनिशाले ‘बिगुल’को हिस्सा नबन्ने घोषणा गरेकी हुन् ?

फिल्मीखबर, काठमाडौं, 2025/12/15

Benisha Hamal

 

अभिनेत्री बेनिशा हमालको मुख्य भूमिका रहेको फिल्म ‘बिगुल’को आइतबार टिजर सार्वजनिक भयो । तर, अहिलेसम्म उनले आफ्ना कुनै सामाजिक सञ्जालमा टिजर सेअर गरेकी छैनन् । यसले गर्दा उनी फिल्मको टिमसँग असन्तुष्ट रहेको चर्चा चलिरहेको छ । यस्तैमा उनले सोमबार फेसबुकमा एक पोस्ट लेख्दै फिल्ममा नै नभएको विषय टिजरमा राखिएकोमा आपत्ति जनाएकी छन् । 

टिजरको अन्त्यमा बेनिशाकै आवाजमा एउटा संवाद सुनिन्छ, ‘अब कुनै पनि हालतमा जेनजीहरूको भावना मर्नु हुँदैन ।’ उनले यही संवादप्रति आपत्ति जनाउँदै फिल्ममै नभएको कुरा प्रचारका लागि टिजरमा देखाइन्छ भने आफू त्यस्तो अभ्यासको समर्थन नगर्ने र त्यसको हिस्सा नबन्ने उद्घोष गरेकी छन् । यद्यपि, उनले फिल्मको नाम उल्लेख गरेकी छैनन् । 

पेशागत आचरणमा आफूले विश्वास गर्ने बताउँदै उनले लेखेकी छन्, ‘परिस्थिति जस्तोसुकै भए पनि मैले सधैं मानिसहरूको मूल्य र मर्यादाको सम्मान गरेको छु । एक कलाकारको हैसियतले के साझा गर्ने र के नगर्ने भन्ने सीमाना मलाई स्पष्ट छ । फिल्मसँग सम्बन्ध नै नभएका विषय वा अरूको भावनालाई प्रचारका लागि प्रयोग गर्ने प्रवृत्तिप्रति म असहमत छु ।’

 

benisha hamal


फिल्मको टिजरमा राजनीतिक दाउपेच र चलखेललाई केन्द्रमा राखिएको छ । तर, टिजरमा न जेनजीका माग देखिन्छ, न विद्रोह । अन्त्यतिर एक संवादमार्फत जेनजीको भावना समेट्न खोजिएको छ । यसबाट के प्रष्ट हुन्छ भने निर्माण पक्षले जेनजी आन्दोलनको विषयलाई प्रचारका लागि मात्र प्रयोग गरेको छ । यही कारण बेनिशाले आफू फिल्मकै हिस्सा नहुने उद्घोष गरेको स्पष्ट छ ।

तर, टिजरको एउटा संवादलाई लिएर उनले फिल्मको हिस्सा नबन्ने निर्णय गरिरहँदा उनीमाथि पनि प्रश्न उठ्छ । यदि फिल्मको कथावस्तुमा जेनजीको माग र आन्दोलनको विषय नै समावेश थिएन भने त्यससँग सम्बन्धित संवाद बोल्न उनी कसरी तयार भइन् ? उनले यसबारे स्पष्ट पार्न जरुरी देखिन्छ ।