
हास्य कलाकार अर्जुन घिमिरे (पाँडे)को निर्देशनमा बनेको फिल्म ‘झरीपछिको इन्द्रेणी’मा पुराना र नयाँ पुस्ताका कलाकारहरूको समिश्रण देख्न पाइन्छ । फिल्म क्षेत्रमा अग्लो कद बनाएका गणेश उप्रेतीदेखि जेनजी पुस्ताकी प्रियना आचार्य (मुन्नी)सम्मले यस फिल्ममा अभिनय गरेका छन् । यसैले फिल्मप्रति दर्शकमा उत्सुकता, चासो र अपेक्षा बढेको देखिन्छ ।
गणेश दुई दशकअघिका लोकप्रिय कलाकार हुन् । टेलिसिरियल हुँदै उनले ५० भन्दा बढी फिल्ममा अभिनय गरेका छन् । ‘भाग्य रेखा’, ‘लक्ष्मी पूजा’, ‘ए मेरो हजुर’ जस्ता फिल्म उनका यादगार मानिन्छन् । लामो समयदेखि अमेरिकामा बस्दै आएका उनले ‘झरिपछिको इन्द्रेणी’बाट ९ वर्षपछि कमब्याक गरेका हुन् । यसैले उनलाई पर्दामा हेर्न ‘जेन एक्स’ पुस्ता अधैर्य देखिन्छ ।
फिल्ममा अघिल्लो पुस्ताका सुपरस्टार रमेश उप्रेतीको पनि मुख्य भूमिका छ । फिल्ममा उनी करिब ७ वर्षपछि देखिन लागेका हुन् । उनको अभिनयले फिल्म अझ प्रभावशाली बनेको अनुमान गर्न सकिन्छ । अभिनेत्री दीपाश्री निरौला पनि यही फिल्ममार्फत दर्शकसँग भेट गर्दैछिन् । निर्मल शर्मा, प्रकाश घिमिरे जस्ता पुराना पुस्ताका कलाकारको पनि फिल्ममा महत्वपूर्ण भूमिका छ ।
नयाँ पुस्तातर्फ फिल्ममा मुन्नीको रुपमा दर्शकमाझ परिचित प्रियना आचार्यसहित विमोचन दवाडी र जेसिका पोखरेलले अभिनय गरेका छन् । विमोचन र जेसिका दुवैको यो डेब्यु फिल्म हो । जेसिका दीपाश्रीकी बहिनीकी छोरी हुन् । फिल्ममा निर्देशक घिमिरे स्वयंको पनि अभिनय रहेकाले दर्शकलाई रोमाञ्चक अनुभव हुने अपेक्षा गरिएको छ ।
देशको वर्तमान राजनीतिक अस्थिरता, त्यसले जनतामा पारेको प्रभाव, र नयाँ पुस्ताका युवाहरूको आकांक्षा र आक्रोशलाई मुख्य कथावस्तु बनाइएको यस फिल्ममा सरिता गिरी, देशभक्त खनाल, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, अंशु महर्जन लगायतको पनि अभिनय रहेको छ । पुष ४ गतेदेखि प्रदर्शन हुन लागेको फिल्ममा अनिशा सेन्दाङ लिम्बू निर्मातामा छिन् ।

