Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘जात्रा’ श्रृंखलामा सीमित वर्षाको सफलता !

फिल्मीखबर, काठमाडौं, 2025/12/14

barsha raut

 

संसारमा कुनै कलाकारको करिअर एकनास हुँदैन । उतारचढाव सबैले भोगेका छन् । यसलाई सामान्य रूपमा लिइन्छ । अभिनेत्री वर्षा राउतको करिअर पनि यही वास्तविकताबीच अघि बढिरहेको छ । सुरुवाती दिनमा उनी निरन्तर सफल फिल्मको हिस्सा बनेकी थिइन् । चाहे त्यो ‘नाइँ नभन्नू ल ४’ होस् वा ‘छक्का पञ्जा’ या ‘जात्रा’ नै किन नहोस्, यी फिल्मले उनलाई दर्शकमाझ चिनाए ।

‘जात्रा’को सफलता उनका लागि अझ विशेष थियो । किनकि, उनी सोलो अभिनेत्री भएर काम गरेको पहिलो हिट फिल्म नै यही हो । र, उनले यसको सफलताको जस पनि पाइन् । यसपछि उनले ‘जात्रा’का दुई श्रृंखलामा काम गरिन् । दुवै सफल भए । विगत केही वर्षयता उनको करिअर नै ‘जात्रा’का श्रृंखलाले जोगाएको छ । यसका श्रृंखलाबाहेक उनका सफल फिल्म खोज्न मुस्किल पर्छ ।

‘जात्रा’पछि उनले काम गरेका ‘गोपी’, ‘चौका दाउ’, ‘लाखे’, ‘ऐंचो पैंचो’, ‘एउटा यस्तो प्रेम कहानी’, ‘तेल भिसा’ जस्ता फिल्म असफल भए । उनका अन्य दुई फिल्म ‘के घर के डेरा’ र ‘मिस्टर झोले’ औसत चले । यस वर्षका लागि उनको पहिलो फिल्म ‘हर्ष’ मंसिर १२ गते प्रदर्शनमा आएको थियो । यो फिल्मप्रति उनले ठूलो अपेक्षा राखेको भएपनि यसले उनको असफलताको श्रृंखला रोक्न सकेन ।

‘जात्रा’को तेस्रो श्रृंखला ‘महाजात्रा’पछि निरन्तर असफलता भोगिरहेकी वर्षा अब आफ्ना दुई नयाँ फिल्म ‘कल्ली’ र ‘मालती मङ्गले’को पर्खाइमा छिन् । यसमध्ये ‘कल्ली’ फागुन १ गतेबाट प्रदर्शन हुँदैछ । यी दुई फिल्मको व्यावसायिक नतिजा उनका लागि निकै महत्त्वपूर्ण रहनेछ । यदि यसबाट पनि सकारात्मक नतिजा नआए उनलाई ‘जात्रा’को नयाँ श्रृंखला पर्खिनुको विकल्प देखिँदैन ।