
आगामी पुष १० गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘मुगलान’को ट्रेलर सार्वजनिक गरिएको छ । २ मिनेट २४ सेकेण्ड लामो ट्रेलरले फिल्मको कथावस्तुबारे प्रकाश पारेको छ । २०५२ सालको कालखण्डमा आधारित फिल्मको ट्रेलरमा राजनीतिक द्वन्द्व र गरिबीका कारण परदेशिन बाध्य युवाको कथा समेटिएको छ । ट्रेलरमा दुःख, अभाव र संघर्षको चित्रण मर्मस्पर्शी छ ।
आशिष ढकालको लेखन तथा निर्देशनमा बनेको फिल्ममा प्रभात पाल, स्मारिका ढकाल, रामचन्द्र अधिकारी, दिनेश डिसी, सविन बास्तोला, खड्ग बहादुर पुन (खबपु), श्री शिवांशु, मोती सुबेदी, रश्मी भट्ट, जीवन गौतम, राजु राज सोनी लगायतको अभिनय रहेको छ । टिकटकर स्मारिकाले यही फिल्मबाट डेब्यु गरेकी हुन् ।
रिहान प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस फिल्मका निर्माता गोमन सिंह हुन् । रिता चौधरी सह-निर्माता रहेको फिल्ममा अजय रेग्मीको डिरेक्टर अफ फोटोग्राफी (डीओपी), तारा थापा ‘किम्भे’को सम्पादन, जय बिष्ट र राम गुरुको द्वन्द्व निर्देशन, रिदम कँडेलको ब्याकग्राउन्ड म्यूजिक, देवेन्द्र कुँवरको कोरियोग्राफी तथा किरण भुषालको संगीत छ ।

