Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘पीआर’को प्रिमियरमा कसले के भने ?

फिल्मीखबर, काठमाडौं, 2025/12/11

pr movie

 

यही शुक्रबार (२६ मंसिर)बाट प्रदर्शन हुन लागेको फिल्म ‘पीआर’को बुधबार काठमाडौंमा प्रिमियर गरिएको छ । सामाखुसीस्थित सिटी स्क्वायर हल (क्यूएफएक्स)मा आयोजित प्रिमियरमा उपस्थित फिल्मकर्मी, कलाकार तथा पत्रकारहरूले फिल्मबारे सकारात्मक प्रतिक्रिया दिएका छन् । फिल्मले यथार्थपरक कथा भनेको प्रायःको प्रतिक्रिया थियो । 

अभिनेत्री रेखा थापाले फिल्म राम्रो बनेको र नव-कलाकारहरूको कामले आफूलाई लोभ्याएको बताइन् । चलचित्र विकास बोर्डका अध्यक्षले निर्देशक शोभित बस्नेतको काम र कलाकारको अभिनय असाध्यै राम्रो बनेको प्रतिक्रिया दिए । उनले हरेक नेपालीले यो फिल्म हेर्न जरुरी रहेको समेत बताए । फिल्मको कथा यथार्थपरक र समाजसँग नजिक रहेको उनको भनाइ छ ।

अभिनेता सलिनमान बनियाँले फिल्मका कलाकारहरूको अभिनयको मुक्तकण्ठले प्रशंसा गरे । उनले नयाँ कलाकार भएता पनि पुरानो जस्तै लागेको बताए । ‘मलाई फिल्म एकदमै राम्रो लाग्यो । एकपटक सबै नेपालीले हेर्नुपर्ने फिल्म बनेको छ,’ उनले भने, ‘मैले डेब्यु गर्दाको फिल्मभन्दा ‘पीआर’मा नयाँ कलाकारहरूले गर्नुभएको काम धेरै नै राम्रो लाग्यो ।’

प्रिमियरमा फिल्मलाई प्राप्त उत्साहजनक प्रतिक्रियाले निर्देशक बस्नेत भावुक देखिएका थिए । उनले सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै भने, ‘हलभित्र छिर्दा फिल्मका कलाकारलाई कसैले चिनेको थिएन । बाहिर निस्किँदा सबैले अभिनयको तारिफ गर्दै हिरो हिरोइनसँग फोटो खिच्न तानातान गरेको देख्दा मेरो लागि त्यो नै सबैभन्दा खुसी र सन्तुष्टिको पल थियो ।’

 

pr movie


फिल्मको प्रिमियरमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी, दीपाश्री निरौला, गौरी मल्ल, रेजिना उप्रेती, करिश्मा केसी, दीपक आचार्य (काकु), जयकिशन बस्नेत, सविन श्रेष्ठ, प्रभात पाल, गायिका देविका बन्दना लगायतको पनि उपस्थिति रहेको थियो । उनीहरूले पनि फिल्मको कथावस्तु, प्रस्तुति र कलाकारको अभिनयको प्रशंसामा शब्द खर्चिएका थिए ।

सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा आर.ए.सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी,आश्मा अधिकारी मस्तानी, विमला खत्री, नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का, उत्तम के।सी।, दिक्पाल कार्की लगायतको अभिनय रहेको छ । फिल्ममा नेपालबाट पढ्नका लागि अष्ट्रेलिया पुगेका युवाहरूको संघर्ष, सपना, र यथार्थलाई केन्द्रमा राखिएको छ ।