
ज्ञानेन्द्र देउजाको निर्देशनमा बन्ने नयाँ फिल्म ‘झिँगेदाउ २’को छायांकन सुरु गरिएको छ । सोमबार काभ्रेको पनौतीमा शुभमुहूर्त गरेपछि अभिनेता आर्यन सिग्देलले पहिलो सट दिए । फिल्मका लागि उनले लामो दाह्री पालेका छन् । उनको लुक्स हेर्दा फिल्ममा उनी गाउँले युवकको भूमिकामा देखिने अनुमान गर्न सकिन्छ ।
साढे तीन करोड लागत अनुमान गरिएको फिल्मको छायांकन सेड्युल ६० दिनको राखिएको छ । यो अवधिमा पनौतीसहित काठमाडौं, भक्तपुर, साँखु, तनहुँ, बन्दीपुर, देवघाट, दोलखा, चित्लाङ र पालुङमा छायांकन गरिने फिल्मका लागि पनौतीमा भव्य सेट समेत लगाइएको छ । फिल्मलाई आगामी वर्षको दशैंमा प्रदर्शन गर्ने योजनामा निर्माण पक्ष छ ।
कपनगढी सिनेमा र फिल्म क्रिउ नेपालको संयुक्त ब्यानरमा निर्माण हुने फिल्ममा आर्यनसहित सरोज खनाल, महेश त्रिपाठी, केकी अधिकारी, आँचल शर्मा, कुशल बिष्ट, बसुन्धरा भुषाल, हिँउवाला गौतम, अभय राज बराल लगायतको अभिनय रहनेछ । फिल्मको कथा निर्देशक देउजा स्वयंको हो भने पटकथा परिच्छेद सेन, गोविन्द फुयाल र शिशिर चालिसेले लेखेका हुन् ।
फिल्ममा विष्णु घिमिरे ‘कल्पित’को छायांकन, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, रामजी लामिछानेको कोरियोग्राफी, अर्जुन पोखरेलको संगीत, मित्र डि गुरुङको सम्पादन रहनेछ । फिल्मका निर्माता सुलभ प्रतिक देउजा र समीक्षा देउजा हुन् । २०७९ सालमा प्रदर्शन भएको ‘झिँगेदाउ’को कथा जहाँ टुंगिएको थियो, सिक्वेल त्यहीँबाट सुरु हुने जनाइएको छ ।

