नेपालमा सस्पेन्स थ्रिलर कथामा विरलै फिल्म बन्छन् । गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘अभिमन्यु’ यस्तै सस्पेन्स थ्रिलर ड्रामा हो, जसले दर्शकलाई सस्पेन्समा बाँध्दै नेपाली समाजको यथार्थ कथा प्रस्तुत गर्छ ।
मधेसमा दीर्घकालदेखि समस्या बनेको दाइजो प्रथालाई केन्द्रमा राखेको फिल्मले पैसाको लालचमा एक परिवारले उठाएका चरम कदम र त्यसले समाजमा पारेको प्रभावलाई उजागर गरेको छ । यिनै कथावस्तु र यथार्थपरक चित्रणका कारण फिल्मले दर्शकलाई प्रारम्भदेखि अन्त्यसम्म ‘होल्ड’ गर्न सफल भएको निर्माण पक्षको दाबी छ ।
‘अभिमन्यु’ हेर्ने दर्शकले यसको दोस्रो भाग (सिक्वेल)को माग गरेका छन् । त्यसो त मेकरले सुरुमै यसलाई ‘च्याप्टर–१’ भनेकाले फिल्मको सिक्वेल आउने सम्भावना प्रवल देखिन्छ । दर्शकको मागले मेकरलाई सिक्वेल बनाउन उत्साहित बनाएको छ ।
सुशान्त गौतमले निर्देशन गरेको फिल्ममा मुकेश खनालको लेखन रहेको छ । फिल्मका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता रहेको फिल्मका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् ।

