अष्ट्रेलियामा अध्ययन र मोडलिङ गर्दै आएका सुरज पौडेलले फिल्म ‘पीआर’ मार्फत नेपाली चलचित्र क्षेत्रमा डेब्यु गर्दैछन्। आउँदो शुक्रबारबाट देशभर प्रदर्शनमा आउन लागेको यो फिल्मको ९९ प्रतिशत कथा आफ्नो जीवनसँग मिल्ने उनले बताए ।
फिल्मको प्रमोसनका लागि हाल नेपाल आइपुगेका पौडेलले निर्देशक शोभित बस्नेतकी छोरी सलिनामार्फत फिल्ममा जोडिएको खुलाए । "अष्ट्रेलियामा शोभित बस्नेत सरले यस फिल्मका लागि अडिसन लिइरहनुभएको थियो। उहाँकी छोरी सलिना बस्नेतले मलाई म्यासेज गरेर अडिसन भइरहेको बताइन् र सहभागी हुन सुझाव दिइन्। अभिनय गर्ने मन त पहिलेदेखि नै थियो, त्यसैले अडिसन दिएँ र चयन भएँ," उनले भने ।
सरोजका अनुसार सलिनासँग उनको भेट सन् २०१९ मा ‘ग्लामर नेपाल’ मोडलिङ शोको दौरान भएको हो। त्यहीँबाट उनीहरू राम्रो साथी बनेका हुन् । "सलिनाबाट अडिसनबारे थाहा पाएपछि मैले शोभित सरलाई म्यासेज गरी अडिसनको स्थान र समयबारे सोधेँ। उहाँले बोलाउनुभयो।

वान–लाइन अडिसनपछि उहाँले “के छ त तिम्रो बिचार?” भनेर सोध्नु भयो। अष्ट्रेलियामा समय व्यवस्थापनको कुरा मनमा थियो, तर उहाँले “अतालिनु पर्दैन, स्क्रिप्ट पढ अनि निर्णय गर” भन्नुभयो। उहाँको सुझावले धेरै आत्मविश्वास दिलायो," उनले भने ।
फिल्मका लागि उनले एकरातमै स्क्रिप्ट पढिसकेछन् । "पढेपछि कास्टमा जोडिनुपर्ने नै लाग्यो। कथाको ९९ प्रतिशत भाग मेरो आफ्नै जीवनजस्तै रहेछ—अष्ट्रेलियामा सुरुका दिनमा युवाले भोग्ने चुनौतीहरू नै कथामा भेटेँ" उनी खुले, "स्क्रिप्टमा समाजमा सन्देश दिने गहिरो कन्टेन्ट छ। अष्ट्रेलियामा अध्ययनरत नेपाली विद्यार्थीको वास्तविकता कथामा छर्लङ्ग देखिन्छ। यो विषय बोलिनै पर्ने लागेर फिल्ममा जोडिने निर्णय गरेँ।"
शोभित बस्नेतजसँग काम गर्दा धेरै सहज भएको सरोजको भनाई छ। "उहाँले फिल्म क्षेत्रमा कमाएको अनुभवका आधारमा हामीलाई सहज वातावरण दिनुभयो। अरु कसैसँग भएको भए यति सहज हुने जस्तो लाग्दैन", सरोजले भने,"डेढ महिनाजति वर्कसप गरेर मात्रै फ्लोरमा गएका हौँ। वर्कसपले क्यारेक्टरमा बस्न, संवाद बुझेको अनुसार प्रस्तुत गर्न र आत्मविश्वास बढाउन धेरै मद्दत गर्यो।"
निर्देशक शोभितले सबै कलाकारको समय हेरेर सुटिङ तालिका मिलाइदिएकाले सुटिङ गर्न धेरै सहज भएको उनको दाबी थियो । "अष्ट्रेलियामा भए पनि काम आयो भने नेपाल आउन मलाई समस्या हुँदैन। ‘पीआर’ का हुँदा म नेपाल आएर काम गरेर फर्किएको हुँ। ‘पीआर’ पछि पनि दर्शकले मलाई अन्य फिल्महरूमा देख्न पाउनुहुनेछ" उनले भने

