Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

भारतमा 'ऊनको स्वीटर’को धमाका, दक्षिण भारतसम्म पुग्यो रिलिज

फिल्मीखबर, काठमाडौं, 2025/12/07

घरेलु बक्स अफिसमा ऐतिहासिक सफलता हासिल गरेको नेपाली फिल्म ‘ऊनको स्वीटर’ ले अहिले भारतमा पनि धमाका मच्चाएको छ। नेपालमा ५१ दिनसम्म ४० भन्दा बढी सिनेमा हलहरूमा लगातार प्रदर्शन भई करिब १२ करोड रुपैयाँको उल्लेखनीय आम्दानी गरेको यो फिल्म अहिले भारतीय दर्शकहरूको मागअनुसार प्रमुख सहरहरूमा सफलतापूर्वक प्रदर्शन भइरहेको छ र दर्जनौँ नयाँ स्थानमा रिलिज हुने तयारीमा छ।

निर्माण कम्पनी आर्टमान्डू नेपाल प्रा.लि. ले एक प्रेस विज्ञप्ति जारी गर्दै पूर्वोत्तर भारतमा बलियो प्रदर्शन गरेपछि फिल्मले अब दक्षिण भारत सम्म आफ्नो पहुँच विस्तार गरेको जानकारी दिएको छ।

नवीन चौहानको निर्देशनमा तयार भएको तथा विपिन कार्की, मिरूना मगर, एलेक्स पारस, परीक्षा लिम्बु, सुनिल पोखरेल लगायतका कलाकारहरूको अभिनय रहेको यो फिल्मले दुई हप्ताअघि सिक्किमको राजधानी गान्तोकमा प्रिमियर शोसँगै भारत यात्रा सुरु गरेको थियो। प्रारम्भिक दुई शो नै हाउसफुल भएपछि गान्तोकमा शोको संख्या बढाएर ६ पुर्‍याइएको थियो।

 

 

यस प्रारम्भिक उत्साहजनक प्रतिक्रियाले दार्जिलिङ, कर्स्याङ, कालिम्पोङ, नाम्ची, कोलकाता र सिलिगुडीका हलहरूमा समेत दर्शकको ओइरो लागेको र ती हलहरूले अझै पनि शोहरू निरन्तरता दिइरहेको निर्माण पक्षले जनाएको छ।

पूर्वोत्तरको सफलतालाई निरन्तरता दिँदै ‘ऊनको स्वीटर’ अब असमको गुवाहाटी, पश्चिम बंगालको कोलकाता, उत्तराखण्डको देहरादून, नयाँ दिल्लीका साथै कर्नाटकको बैंगलोर र तेलङ्गनाको हैदराबाद जस्ता दक्षिण भारतीय महानगरहरूमा समेत पुगेको छ।

विशेष गरी बैंगलोरमा नेपाली भाषीको संख्या कम हुँदाहुँदै पनि चार प्रमुख हलहरूमा फिल्म हाउसफुल चलिरहेको निर्माता टिमले उल्लेख गरेको छ। दक्षिण भारतमा पाएको यस्तो बलियो समर्थनलाई नेपाली फिल्म उद्योगको लागि एक महत्त्वपूर्ण उपलब्धि मानिएको छ।

 

 

आर्टमान्डू नेपाल प्रा.लि. ले डिसेम्बर १२ देखि फिल्मलाई थप दर्जनौँ भारतीय सहरमा प्रदर्शन विस्तार गर्ने घोषणा गरेको छ। सो मितिदेखि मुम्बई, हैदराबाद, हिमाञ्चल प्रदेशका सिमला, धर्मशाला, कुल्लु, अरुणाचल प्रदेशका तेजू र नामसाई, मेघालयको सिलोङ तथा असमका अन्य मुख्य सहरहरूमा पनि फिल्मको आधिकारिक रिलिज हुँदैछ।

निर्देशक नवीन चौहानले गान्तोकबाट सुरु भएको आफ्नो फिल्मको यात्रा दक्षिण भारतसम्म पुग्नु आफूहरूले कल्पना गरेको भन्दा धेरै ठूलो उपलब्धि भएको बताए। भारतमा ‘ऊनको स्वीटर’ लाई एसली प्रोडक्सन र एवन राईको समूहले रिलिज गरेको हो। भारत प्रदर्शनका क्रममा निर्देशक चौहानसँगै गायक सुजन चापागाईँ पनि सक्रिय रूपमा सहभागी छन्।