मोडल बरुण अधिकारीले फिल्म ‘तरङ्ग’मार्फत नेपाली रजतपटमा डेब्यू गर्ने भएका छन् । फिल्ममा नाट्यकर्मी तथा अभिनेता प्रदीपकुमार चौधरी(पीके)को डेब्यू निर्देशन हुनेछ । एक दर्जनभन्दा बढी म्यूजिक भिडियोमा अभिनय गरिसकेका बरुण फिल्ममा देखिन पाउदा उत्साहित छन् ।
‘मेरो भूमिका शक्तिशाली छ। टिमको भरोसा मिहिनेतले उतार्नेछु,’ उनले भने । आफ्नो पात्रलाई लिएर दर्शकले रुचाउनेमा उनी विश्वस्त छन् । फिल्मको पटकथा लेखन पनि निर्देशक चौधरी स्वयंकै रहेको छ । मनोरम प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको फिल्मको निर्माता सुजन राई र तर्कराज जोशी छन् ।

‘सुपरन्याचुरल लभस्टोरी’ जनरामा तयार हुने फिल्मको छायांकन इटहरी, धरान, बेलबारी, चतरा, चितवन, बुटवल, पोखरा र भेडेटारलगायत स्थानमा हुनेछ ।फिल्मको केही दिनदेखि मोरङको बेलबारीमा छायांकन भइरहेको छ ।
करिब २ करोड रुपैयाँ बजेटमा निर्माण भइरहेको फिल्ममा बरुणसँगै रविना केसी, बारत लिम्बु, कृष्ण थापा, सारा राई, उजल राई र उत्तम गुरुङ लगायतका कलाकारहरूको अभिनय रहनेछ ।
फिल्मका छायाकार महेश पौडेल रहेका छन् भने निर्माण नियन्त्रक रिजन परियार छन् । फिल्म सन् २०२६ मा रिलिज हुनेछ ।

