
पाँच पटकको प्रयासमा शुक्रबारबाट फिल्म ‘अभिमन्यु’ सन्तोषजनक शोसहित प्रदर्शनमा आएको छ । गत भदौ २७ मा रिलिज हुने भनिएको यो फिल्म जेनजी पुस्ताको आन्दोलनका कारण पछाडि धकेलिएको थियो । त्यसअघि साउन २३, असोज २४ र कात्तिक २१ गतेलाई घोषणा गरिएको मितिमा पनि फिल्म रिलिज हुन सकेन ।
फिल्मले देशव्यापी एक सयभन्दा बढी शो पाएको छ । देशको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले फिल्मलाई काठमाडौंका आउटलेटमा ११ बढी शो दिएको छ । दोस्रो ठूलो मल्टिप्लेक्स चेन आईएनआईका ५ वटा चेनमा फिल्मले ११ शो पाएको छ । वान् सिनेमाजले २ वटा आउटलेटमा ६ शो, बिग मुभिजले २ शो, एफक्युबले २ शो दिएका छन् ।
गत सोमबार काठमाडौंमा भएको प्रिमियरमा फिल्मको विषयवस्तु, मेकिङ, प्रस्तुति र कलाकारको अभिनयको प्रशंसा भएको थियो । सुशान्त गौतमको डेब्यू निर्देशकीय फिल्ममा कामेश्वर चौरासिया, सरिता गिरी, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, शिशिर वाङ्देल, प्रकाश दाहाल, किरण श्रेष्ठलगायतका कलाकारहरूको अभिनय रहेको छ ।
मुकेश खनालको लेखन रहेको फिल्मका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता रहेको फिल्ममा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ कार्यकारी निर्मातामा छन् । फिल्ममा शरद महतो डिओपी, मनोज श्रेष्ठको भिएफएक्स, जुनिम गहतराजको रंग संयोजन र मदन घिमिरेको सम्पादन रहेको छ ।

