शोभित बस्नेतको निर्देशनमा बनेको फिल्म ‘पीआर’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै दर्शकमाझ ल्याइएको ३ मिनेट १ सेकेन्ड लामो ट्रेलरमा नेपालबाट पढ्नका लागि अष्ट्रेलिया पुगेका युवाहरूको संघर्ष, सपना, र यथार्थलाई केन्द्रमा राखिएको छ । प्रेम र विछोडको मिश्रण पनि ट्रेलरमा छ ।
अस्ट्रेलिया पुगेका अधिकांश नेपालीको मुख्य सपना पीआर पाउनु हुन्छ । तर, नेपालबाट ऋण लिएर पठाएको सन्तानले पैसा पठाउन नसक्दा उत्पन्न हुने पारिवारिक तनाव र विदेशमा भोग्नुपर्ने चुनौतीपूर्ण परिस्थितिलाई निर्देशक बस्नेतले प्रभावकारी रूपमा प्रस्तुत गरेका छन् । ट्रेलर हेर्दा उनले ‘आफ्नो देश आफ्नै हुन्छ’ भन्ने सन्देश फिल्ममार्फत दिन खोजेको देखिन्छ ।
मंसिर २६ गतेबाट प्रदर्शनमा आउन लागेको यस फिल्ममा आर ए सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी मस्तानी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स कृष्ण थापा, नवीन घायल, नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का, उत्तम केसी नेपाल, दीक्पाल कार्की लगायतको अभिनय रहेको छ । फिल्ममा गणेश बुढाथोकीको लेखन छ ।
सलोन-सलिना फिल्म्सको ब्यानरमा निर्माण भएको ‘पीआर’का प्रस्तुतकर्ता रञ्जित साह र सन्तोष तिवारी हुन् भने निर्मातामा लक्ष्मण सापकोटा र प्रदीप दाहाल रहेका छन् । यसमा छायांकन सौरभ सायमी र सौरभ लामा, सम्पादन बन्दे प्रसाद, संगीत मानस राज र कोरियोग्राफी रामजी लामिछानेको रहेको छ ।

