Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘अभिमन्यु’ प्रिमियर: कथा र कामेश्वरकाे प्रशंसा

फिल्मीखबर, काठमाडौं, 2025/12/02

Abhimanyu

 

शुक्रबारदेखि प्रदर्शन हुन लागेको फिल्म ‘अभिमन्यु’को सोमबार साँझ ललितपुरस्थित लबिम मलको क्यूएफएक्स हलमा प्रिमियर गरिएको छ । फिल्मकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको प्रिमियरमा सहभागीहरूले फिल्मको कथ्य शैली, निर्देशन र कलाकारहरूको अभिनयको प्रशंसा गर्दै फिल्मले दर्शकलाई सुरुदेखि अन्त्यसम्म बाँधेर राख्ने प्रतिक्रिया दिएका छन् ।

अभिनेता दिव्यदेव पन्तले महिला कलाकारको काम मन परेकाे बताए । ‘सामान्यतया फिल्ममा महिला पात्रलाई जसरी देखाइन्थ्यो वा कन्भिन्स् गराइन्थ्यो, त्यो परम्परालाई यो फिल्मले तोडेको छ । पर्फर्मेन्सको हिसाबले यो एकदमै उत्कृष्ट छ,’ उनले भने

निर्देशक शोभित बस्नेतले अभिनेता कामेश्वर चौरसियाको अभिनयको मुक्तकण्ठले प्रशंसा गरे । कमेडियन भरतमणी पौडेलले फिल्मले दाइजो प्रथाजस्तो गम्भीर सामाजिक विषयवस्तु उठाएको र सस्पेन्सले भरिपूर्ण रहेको प्रतिक्रिया दिए ।

प्रिमियरपछि अभिनेता कामेश्वर चौरसिया मिडियासामु भावुक देखिए । ‘कलाकार बन्न स्क्रिप्ट नै चाहिँदो रहेछ । अहिलेसम्म मैले जति काम गरेँ, सबैले सराहना गर्नुभयो, तर लिड क्यारेक्टरको लागि एउटा बलियो लिखित दस्तावेज नै चाहिन्छ । जे गरेँ, यहाँ आइपुग्नकै लागि रहेछ,’ उनले भने ।

अभिनेत्री लक्ष्मी बर्देवा (भट्टराई)ले आफूले गर्भवती अवस्थामा ‘अभिमन्यु’मा काम गरेको खुलासा गरिन् । उनले स्क्रिप्ट पढ्दादेखि नै क्यारेक्टर मन परेको र शारीरिक अवस्था जटिल भए पनि फिल्मको टिम र कथावस्तु उत्कृष्ट भएकाले काम गरेको बताइन् । उनले भनिन्, ‘सुरुमा स्क्रिप्ट पढ्दाभन्दा पर्दामा फिल्म हेर्दा अझ राम्रो बनेको पाएँ ।’

अर्की अभिनेत्री सरिता गिरीले पुरुष प्रधान फिल्महरू बनिरहेको समयमा ‘अभिमन्यु’ महिला केन्द्रित फिल्म बनेको र पुरुष पात्रहरूले त्यसलाई सहयोग गरेको देख्दा खुसी लागेको बताइन् ।

सुशान्त गौतमको निर्देशनमा बनेको यस फिल्ममा कामेश्वर, लक्ष्मी र सरितासहित किरण श्रेष्ठ, गौमाया गुरुङ, प्रकाश दाहाल, शिशिर वाङ्देल लगायतको अभिनय रहेको छ । विनोद पौडेल र गुञ्जन गिरी निर्माता रहेको फिल्ममा मुकेश खनालको लेखन, शरद महतो डिओपी, मदन घिमिरेको सम्पादन तथा जुनिम गहतराजको रंग संयोजन छ ।