Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

२२ वर्षपछि पुनर्जीवित भयो शिव रेग्मीको ‘पाहुना’ गीत

फिल्मीखबर, काठमाडौं, 2025/12/01

Barsha Raut, Khagendra Lamichhane

 

स्वर्गीय निर्देशक शिव रेग्मीले लेखेका थुप्रै गीतहरूमध्ये ‘पाहुना’ कालजयी मानिन्छ । सन् २००३ मा प्रदर्शन भएको फिल्म ‘पाहुना’मा उक्त गीत समावेश थियो । यही गीतलाई नयाँ एरेन्जमेन्टसहित निर्देशक रेग्मीकै भान्जी एकता पौडेलले आफ्नो पहिलो निर्देशकीय फिल्म ‘हर्ष’मा समावेश गरेकी छन् । यो गीत सोमबार युट्युबमार्फत सार्वजनिक गरिएको छ ।

समीर-हिमालको कम्पोज तथा वसन्त सापकोटाले पुनः उत्पादन गरेको गीतमा गरिमा अधिकारीको स्वर छ । गीतले मानिसको जीवन यस संसारमा पाहुनाजस्तै क्षणिक मात्र हो भन्ने गहिरो सन्देश दिएको छ । गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरू वर्षा राउत, खगेन्द्र लामिछाने र साइमन वादी लगायतलाई देख्न सकिन्छ ।

गत शुक्रबारबाट प्रदर्शनमा आएको ‘हर्ष’ले बक्स अफिसमा अपेक्षित व्यापार गर्न नसकेको भए पनि दर्शकबाट सुखद प्रतिक्रिया बटुलिरहेको छ । फिल्मको विषयवस्तु प्रभावकारी रहेको भन्दै प्रशंसा भइरहेको छ भने बाल कलाकार साइमनको अभिनयले दर्शकको ध्यान खिचेको छ । ‘माउथ पब्लिसिटी’को प्रभावले फिल्मको व्यापार वृद्धि हुनेमा निर्माण टिम विश्वस्त देखिएको छ ।

वंशको विषयलाई मुख्य कथावस्तु बनाइएको यस फिल्ममा खगेन्द्र, वर्षा र साइमनसहित नीर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, लुनिभा तुलाधर, अंशु महर्जन, सुवर्ण थापा, सिर्जना नापित लगायतको अभिनय रहेको छ । फिल्ममा प्रशन्न पौडेल र विकास पौडेल निर्मातामा छन् भने हिक्मत चोखाल कार्यकारी निर्माता हुन् ।