
रमेश कोइरालाको निर्देशनमा बनेको फिल्म ‘बिगुल’ वसन्त पञ्चमी (सरस्वती पूजा)को अवसर पारेर आगामी माघ ९ गतेबाट प्रदर्शनमा आउने भएको छ । आइतबार निर्माण पक्षले फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरेको हो । उक्त मितिमा अभिनेता सुशील श्रेष्ठ स्टारर फिल्म ‘परिवर्तन’ पनि प्रदर्शनमा आउँदैछ ।
फर्स्टलुकमध्ये एउटामा अभिनेत्री बेनिशा हमाल गम्भीर भावमा देखिएकी छिन् । सोही पोस्टरमा राँको लिएका एक हुल प्रदर्शनकारी देखिन्छन । दोस्रो पोस्टरमा बेनिशासहित नरेन खड्का र रमेश बुढाथोकी आक्रोशित मुद्रामा प्रस्तुत छन् भने अर्को पोस्टरमा ‘बिगुल’का सबै मुख्य कलाकारलाई समेटिएको छ ।
निर्माण पक्षले गत भदौ २३ र २४ मा जेनजी पुस्ताले गरेको आन्दोलनको मुद्धालाई फिल्ममा समेटिएको दाबी गरेको छ । निर्माता दिनेश कोइरालाले जेनजी पुस्ताले आन्दोलनमा उठाएका मुद्धा र फिल्मको कथा ठ्याक्कै मिल्नु अचम्मको संयोग भएको बताए । उनका अनुसार फिल्मलाई जेनजी आन्दोलनप्रति समर्पित गरिएको छ ।
म्याग्नोलिया ग्रुपको ब्यानरमा निर्माण भएको फिल्ममा बेनिशा, रमेश र नरेनसहित नीर शाह, सरोज खनाल, हेमन्त बुढाथोकी, शिशिर वाङ्देल, विनोद न्यौपाने, जेएन घिमीरे, गीता अधिकारी, मीरा पण्डित, मानश्री शर्मा लगायतको अभिनय रहेको छ । कल्पना पौडेल प्रस्तुतकर्ता रहेको फिल्ममा सूर्य कान्त कोइराला र महेश कोइराला सह-निर्मातामा छन् ।
फिल्ममा प्रदिप भारद्वाज र मौनता श्रेष्ठको पटकथा तथा संवाद, शिव ढकालको छायाङकन, कमल राई र कविराज गहतराजको नृत्य, एनबी महर्जनको द्वन्द्व निर्देशन, विश्वप्रकाश शर्मा, अर्जुन पोखरेल र मनोज चौलागाईंको संगीत तथा तारा थापा किम्भेको सम्पादन रहेको छ । फिल्मको वितरण काफिया फिल्म्स र श्री ब्याङ्केट्स इन्टरटेन्मेन्टले गर्नेछन् ।

