Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आना अभिनीत ‘रमिताको पिरती’को टिजर सार्वजनिक

फिल्मीखबर, काठमाडौं, 2025/11/30

Anna Sharma

 

फिल्ममा कम अभिनय गर्ने अभिनेत्रीमा पर्छिन्, आना शर्मा । फिल्म ‘जेरी’बाट अभिनय करिअर सुरु गरेकी उनले त्यसपछि ‘ग्याङस्टार ब्लुज’, ‘द म्यान फ्रम काठमाडौं’ र पछिल्लो रिलिज फिल्म ‘एक्टर’मा काम गरिन् । कहिलेकाहीँ म्यूजिक भिडियोमा समेत देखिने उनी अब नयाँ फिल्म ‘रमिताको पिरती’मा शीर्ष भूमिकामा देखिँदैछिन् । 

आगामी माघ २३ गतेबाट प्रदर्शनमा आउन लागेको यो फिल्मको शनिबार युट्युबमार्फत टिजर सार्वजनिक गरिएको छ । आनालाई केन्द्रमा राखिएको टिजरमा उनलाई प्रेम, रोमान्स, खुशी, दुःखदेखि हृदयवेदनासम्मका विभिन्न भावनात्मक अवस्थाहरूमा देखाइएको छ । टिजर हेर्दा फिल्मले एक यूवतीको मनोविज्ञानलाई बोकेको अनुमान लगाउन सकिन्छ । 

टिजरमा आनासहित धिरज मगर, समीर श्रेष्ठ र विनय श्रेष्ठलाई पनि समेटिएको छ । समीरले यही फिल्मबाट अभिनय यात्रा सुरु गर्न लागेका हुन् । गायकको रूपमा परिचित उनका ‘हेर न’, ‘थाम हात’, ‘तिमीले’ जस्ता गीत युवापुस्तामाझ निकै चर्चित छन् । 

सेरो फिल्मस्को प्रस्तुतिमा निर्माण भएको यस फिल्ममा सुदिप्ताको लेखन र निर्देशन रहेको छ । फिल्मका निर्माता सागर लम्साल हुन् । सुशान्त केसी, समीर श्रेष्ठ, महेश काफ्ले, अस्मिता अधिकारी र कुशल पोखरेलको संगीत रहेको फिल्ममा शिशिर विशांखेको छायांकन तथा सुनिल विशांखेको सम्पादन छ ।