माघे संक्रान्तिको अवसर पारेर माघ १ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘मिरमिरे’को पोस्टर सार्वजनिक भएसँगै विदेशमा यसको माग बढ्न थालेको छ । यससँगै निर्माण पक्षले फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री सुरु गरेको छ । पहिलो चरणमा इजरायल, युएई, कतार, बहराइन, र मलेसियाका लागि फिल्मको प्रदर्शन अधिकार बिक्री गरिएको छ ।
यी ५ देशका लागि आशिष इन्टरटेन्मेन्टले फिल्मको राइट्स खरिद गरेको हो । सो कम्पनीसँग ‘जेरी अन टप’, ‘बलिदान’, ‘जनै हराएको मान्छे’, ‘पिताम्बर’, ‘होस्टेल ३’ जस्ता फिल्महरू मध्यपूर्वका देशमा प्रदर्शन गरिसकेको अनुभव छ । ‘मिरमिरे’को चर्चा र स्टारकास्टलाई मध्यनजर गर्दै प्रदर्शन अधिकार खरिद गरिएको कम्पनीले जनाएको छ ।
यम शेर्पाको निर्देशनमा बनेको यस फिल्ममा दयाहाङ राई, सिर्जना निङलेखु, प्रकाश सपूत मुख्य भूमिकामा छन् । दयाहाङ र सिर्जनाले यसअघि निर्देशक शेर्पाको पहिलो फिल्म ‘कार्साङ’मा श्रीमान्-श्रीमतीको भूमिकामा अभिनय गरेका थिए । ‘जारी २’मा पनि उनीहरूको सहकार्य भएको थियो । दयाहाङ र प्रकाशले भने पहिलो पटक एकसाथ काम गरेका हुन् ।
यार्सा फिल्म्सको प्रस्तुति रहेको फिल्ममा माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, दिविशा पन्त, चिराग श्रेष्ठ, नमनराज गजुरेल, बाल कलाकार शाइसा गौचन लगायतको पनि अभिनय देख्न सकिनेछ । यसमा निर्देशक शेर्पा स्वयंको लेखन छ भने आलोक शुक्लाको छायांकन रहेको छ । फिल्ममा निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्मातामा छन् ।

