
शोभित बस्नेतको निर्देशनमा बनेको नयाँ फिल्म ‘पीआर’को विदेशमा माग बढ्न थालेको छ । टिजर र दुईवटा गीतले फिल्मप्रति दर्शकको चासो बढाउँदा विभिन्न देशबाट प्रदर्शन अधिकार खरिदका लागि प्रस्ताव आइरहेको निर्माण पक्षले जनाएको छ । फिल्मको पहिलो चरणमा भने अष्ट्रेलिया र न्यूजिल्याण्डका लागि प्रदर्शन अधिकार बिक्री गरिएको छ ।
दुई देशका लागि मि.श्रेष्ठ प्रोप्राइत्री लिमिटेड तथा श्रेष्ठ फ्यास्लिटी म्यानेज्मेन्ट कम्पनीले फिल्मको प्रदर्शन अधिकार खरिद गरेको हो । यस कम्पनीका सञ्चालक विजेन्द्र श्रेष्ठ हुन् । उनले ‘पीआर’ले सामाजिक सन्देश दिने र विदेशमा बस्ने नेपालीले बुझ्नैपर्ने विषय भएकाले दर्शकको माग अनुसार आफूले फिल्म खरिद गरेको बताए ।
मंसिर २६ गतेबाट प्रदर्शन हुन लागेको यस फिल्ममा सुरज पौडेल, विनिता कार्की, दिक्पाल कार्की राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी, विमला खत्री, म्याक्स गणेश बुढाथोकी लगायतको अभिनय रहेको छ । अष्ट्रेलिया निवासी रञ्जित साह र सन्तोष तिवारी प्रस्तुतकर्ता रहेको फिल्ममा लक्ष्मण सापकोटा र प्रदीप दाहाल निर्मातामा छन् ।
फिल्मको प्रदर्शनको चाँजोपाँचो मिलाउन यतिबेला अष्ट्रेलियामा रहेका निर्देशक बस्नेतले फिल्ममा हरेक नेपालीले आफ्नो कथा पाउने दाबी गरेका छन् । उनले भने, ‘फिल्ममा दर्शकले रोमान्स, एक्सन, र सामाजिक सन्देशको मिश्रण पाउनेछन् । यो युवाको सपना, संघर्ष र आप्रवासनसँग जोडिएको कथा हो, जसले फरक स्वाद प्रदान गर्नेछ भन्नेमा विश्वास लिएको छु ।’

