
अभिनेत्री पूजा शर्मा विवाह बन्धनमा बाँधिने भएकी छन् । यही मंसिर २० गते उनले प्रेमी युद्ध बानियाँसँग लगनगाँठो कस्न लागेकी हुन् । उनीहरूको विवाह भक्तपुरको साँगामा अवस्थित पाँचतारे होटल फर्च्युनमा हुनेछ । विवाह समारोहमा दुई पक्षका सीमित पारिवारिक सदस्य र फिल्मकर्मीको उपस्थिति रहने जनाइएको छ ।
पूजा विगत ६ वर्षदेखि युद्धसँग प्रेम सम्बन्धमा छिन् । फिल्म ‘म यस्तो गीत गाउँछु २’ रिलिजको बेला उनले आफ्नो प्रेम सम्बन्धबारे खुलासा गरेकी थिइन् । युद्धले औँठी लगाइदिएर पूजालाई प्रेम प्रस्ताव राखेका थिए । उनीहरूले संयुक्त रूपमा ४ करोडभन्दा बढीको लगानीमा ललितपुरको झम्सिखेलमा ‘ट्याग’ नामक रेस्टुरेन्ट सञ्चालन गर्दै आइरहेका छन् ।
कामको कुरा गर्दा पूजाले दशैंभन्दा अगाडि फिल्म ‘३६ को आँकडा’को छायांकन सकिएकी थिइन् । उनी चाँडै नयाँ एक्सन फिल्म ‘एक्का तीन’मा काम गर्ने तयारीमा छिन् । कुनै बेला सर्वाधिक महंगी अभिनेत्रीको रुपमा परिचित उनी आफ्ना अभिव्यक्तिका कारण प्रायः चर्चा र विवादको केन्द्रमा रहने गरेकी छन् ।

