Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘जारी’को कमाइ १७ करोड, सिक्वेललाई ७ करोड पनि हम्मेहम्मे

फिल्मीखबर, काठमाडौं, 2025/11/26

jaari 2

 

फिल्मको भाग्य पनि अनौठोको हुन्छ । कहिलेकाहीँ ठूलो स्टारकास्ट, भारी लगानी, र व्यापक प्रचार गरिएका फिल्मले अपेक्षित परिणाम दिन सक्दैनन् । बरु खासै अपेक्षा नगरिएका फिल्महरूले बक्स अफिसमा कीर्तिमान बनाउँछन् । दर्शकको रुचि, प्रचार शैली, प्रदर्शनको समय लगायतका पक्षले व्यापारमा प्रभाव पार्ने भएकाले प्रदर्शनपूर्व फिल्मको भविष्यबारे पूर्वानुमान गर्न सकिँदैन ।

फिल्मको व्यापार अनुमान गरे अनुरुप हुँदैन भन्ने कुराको उदाहरण ‘जारी २’ पनि हो । २०८० सालको सुपरहिट फिल्म ‘जारी’को सिक्वेल भएकाले यसले अघिल्लो भागको १७ करोडको रेकर्ड तोड्न सक्ने प्रक्षेपण गरिएको थियो । तर, प्रदर्शनको तेस्रो सातासम्म आइपुग्दा फिल्मले त्यो छनक देखाएको छैन । फिल्मलाई घरेलु बक्स अफिसमा ७-८ करोड कमाउन पनि हम्मेहम्मे परिरहेको छ ।

चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको विवरणमा ‘जारी २’ले मंसिर ६ गतेसम्म ५ करोड ८९ लाख रुपैयाँ ग्रस व्यापार गरेको देखिन्छ । मंगलबारसम्म फिल्मको व्यापार ६ करोड नाघेको छ । तर, तेस्रो सातामा आइपुग्दा फिल्मको धेरै शो गुमिसकेका छन्, भने अकुपेन्सी पनि निकै कमजोर बनेको छ । यो अवस्थामा फिल्मको व्यापार ८ करोडको हाराहारीमा टुंगिन सक्ने देखिन्छ ।

‘जारी २’ले अपेक्षित प्रदर्शन गर्न नसक्नुको मुख्य कारण अघिल्लो श्रृंखलाले दर्शकमा सिर्जना गरेको उच्च अपेक्षालाई मानिएको छ । ‘जारी’ कथावाचनमा निकै बलियो फिल्म थियो । तर, सिक्वेलमा दर्शकको अपेक्षा र कथावाचनबीच सन्तुलन नमिल्दा व्यापार अपेक्षाअनुसार हुन नसकेको प्रष्ट छ । यद्यपि, फिल्मले ‘जारी’को रेकर्ड भेटाउन नसके पनि व्यावसायिक सफलता प्राप्त गरेको छ ।