सस्पेन्स-थ्रिलर फिल्म ‘अभिमन्यु’को हिन्दी भर्सनको टिजर सार्वजनिक गरिएको छ । १ मिनेट ४० सेकेण्ड लामो टिजरले फिल्मको कथावस्तु उजागर गर्दै प्रेम, रहस्य, अपराध र मनोवैज्ञानिक तनावलाई मुख्य रूपमा प्रस्तुत गरेको छ । पैसाका लागि अपहरणको योजना र छानबिनमा जुटेको प्रहरीको अनुसन्धान टिजरको केन्द्रमा छ, जसले दर्शकलाई रोमाञ्चक अनुभव गराउँछ ।
टिजरको सबैभन्दा आकर्षक पक्ष हिन्दी स्वरांकन हो । अभिनेता कामेश्वर चौरासियाको पात्रमा ‘केजीएफ’को हिन्दी भर्सनका भ्वाइस आर्टिस्ट सचिन गोलेले आवाज दिएका छन्, जुन प्रभावशाली सुनिन्छ । उनले केही समयअघि ‘अभिमन्यु’को स्वरांकन गर्ने क्रममा एक भिडियो सन्देशमार्फत मेकरले एकदमै मिहिनेत गरेर राम्रो फिल्म बनाएको बताएका थिए ।
मंसिर १८ गतेबाट नेपाली र हिन्दी भर्सन एकैसाथ प्रदर्शन हुन लागेको यस फिल्ममा कामेश्वरसहित लक्ष्मी बर्देवा, शिशिर वाङ्देल, सरिता गिरी, गौमाया गुरुङ, किरण श्रेष्ठ लगायतको अभिनय रहेको छ । संगीतकारको रुपमा परिचित सुशान्त गौतमको निर्देशनमा बनेको फिल्ममा मुकेश खनालको लेखन तथा शरद महतोको छायांकन रहेको छ ।
फिल्मका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । विनोद तिनै निर्माता हुन्, जसले निर्माण गरेको अघिल्लो फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ले बक्स अफिसमा सर्वाधिक कमाइको कीर्तिमान बनाएको थियो । फिल्ममा रमेश चौलागाईं र हरि श्रेष्ठ सह-निर्मातामा छन् । यसमा मनोज श्रेष्ठको भिएफएक्स, जुनिम गहतराजको रंग संयोजन तथा मदन घिमिरेको सम्पादन रहेको छ ।

