Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘हर्ष’ले उठाएको विषयमा बहस हुन आवश्यक छ : निर्देशक पौडेल

फिलमीखबर, काठमाडौं, 2025/11/25

Ekta paudel

 

फिल्म निर्देशनमा नयाँ नाम हो, एकता पौडेल । यही शुक्रबार (१२ मंसिर)बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘हर्ष’मार्फत उनले निर्देशकीय यात्रा सुरु गरेकी छन् । तर, पहिलो फिल्ममा नै उनीमाथि ठूलो चुनौती देखिएको छ । प्रख्यात फिल्म निर्देशक शिव रेग्मीकी भान्जी भएकाले उनी निर्देशनमा आफूलाई अब्बल सावित गर्नुपर्ने दबाबमा छिन् ।

न्यूयोर्क फिल्म एकेडेमीमा अध्ययन गरेकी एकता मामाका फिल्महरूबाट प्रभावित भएर पहिलो फिल्म नै पारिवारिक कथावस्तुमा बनाएको बताउँछिन् । उनी भन्छिन्, ‘अमेरिकाबाट आउँदा मसँग थुप्रै स्क्रिप्ट थिएँ । तर, मेरो मनपर्ने जनरा फेमिली ड्रामा हो । मामाका फिल्महरू पनि त्यस्तै हेरेको हुर्किएँ । यसैले आफूलाई सरल पनि होस् भनेर फेमिली ड्रामामा ‘हर्ष’ बनाएकी हुँ ।’

शिव रेग्मीकी भान्जी भएकाले आफूप्रति दर्शकले बढी अपेक्षा राखेका छन् भन्नेमा उनी सचेत छिन् । यसलाई उनले सकारात्मक रुपमा नै लिएकी छन् । भन्छिन्, ‘मामाकै कारण ममाथि दर्शकले बढी अपेक्षा राख्नु नराम्रो होइन । यसले मलाई अझ धेरै जिम्मेवारीबोध गराउँछ,’ उनी अगाडि भन्छिन्, ‘मामाजस्तो शतप्रतिशत दिन नसके पनि मनछुने कथा भन्ने प्रयास चाहिँ गरेकी छु ।’

एकताले ‘हर्ष’मा वंशको विषयलाई मुख्य कथावस्तु बनाएकी छन् । उनी फिल्मले उठाएको विषयमा बहस हुन आवश्यक ठान्छिन् । भन्छिन्, ‘यसले उठाएको विषयमा बहस हुनु आवश्यक छ । यदि दर्शकले यसलाई राम्रोसँग बुझे भने यो विषय अझ व्यापक रूपमा अघि बढ्नेछ । फिल्मले गम्भीर विषयलाई सरल तर प्रभावकारी शैलीमा मनोरञ्जनसहित भन्छ ।’

अमेरिकामा फिल्म मेकिङ अध्ययन गर्दा उनले विभिन्न देशका विद्यार्थीको फिल्मप्रतिको दृष्टिकोण नजिकबाट बुझ्ने अवसर पाएकी थिइन् । आधारभूत रुपमा भावना अभिव्यक्तिको तरिका धेरै फरक नभए पनि समाज र परिस्थितिले त्यसलाई फरक बनाउने उनको अनुभव छ । त्यही अनुभवले आफूलाई कथा र पात्र निर्माणमा गहिरो बुझाइ दिएको उनको भनाइ छ ।