Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रहेनन् बलिउड अभिनेता धर्मेन्द्र

एजेन्सी, काठमाडौं, 2025/11/24

dharmendra

 

बलिउड अभिनेता धर्मेन्द्र सिंह देओलको निधन भएको छ । ८९ वर्षको उमेरमा उनको मुम्बईस्थित आफ्नै निवासमा सोमबार दिउँसो १ बजे निधन भएको हो । यसको पुष्टि पारिवारिक सदस्यहरूले नै गरेका छन् । उनको अन्तिम संस्कार विले पार्ले श्मशान भूमिमा हुने भारतीय मिडियाले जनाएका छन् । उनीप्रति श्रद्धाञ्जली अर्पण गर्न बलिउड सेलिब्रेटीहरू आर्यघाट पुगिरहेका छन् । 

श्वासप्रश्वासमा समस्या भएपछि धर्मेन्द्रलाई अक्टोबर १० मा मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँ उनलाई तीन दिन भेन्टिलेटरमा राखेर उपचार गरियो । स्वास्थ्यमा सुधार भएपछि उनी डिस्चार्ज भएर घर फर्किएका थिए । र, घरमै उनको उपचार भइरहेको थियो । सोमबार भने उनले घरमै अन्तिम सास लिए । 

सन् १९३५ डिसेम्बर ८ मा पञ्जाब राज्यमा पर्ने नसराली गाउँमा जन्मिएका धर्मेन्द्र भारतीय फिल्म उद्योगका ‘सबैभन्दा ह्यान्डसम अभिनेता’ भनेर चिनिन्छन् । उनको व्यक्तित्व र आकर्षण यति प्रभावशाली थियो कि बलिउडका सदाबहार अभिनेता दिलीप कुमारले समेत उनलाई देखेर भनेका थिए, ‘हे भगवान्, यस्तो अनुहार मलाई किन दिएनौ ?’

हिन्दी फिल्मका निकै लोकप्रिय कलाकार रहेका धर्मेन्द्रले ७ दशक लामो अभिनय करिअरमा ३ सयभन्दा बढी फिल्ममा काम गरेका छन् । ‘शोले’, ‘चुपके चुपके’, ‘सीता और गीता’, ‘धरम वीर’, ‘दोस्त’, ‘प्रतीज्ञा’ जस्ता फिल्म उनका सर्वाधिक लोकप्रिय छन् । उनले पछिल्लो पटक सन् २०२४ मा रिलिज भएको फिल्म ‘तेरी बातों मे ऐसा उलझा जिया’मा काम गरेका थिए । 

सन् १९६० मा प्रदर्शन भएको फिल्म ‘दिल भी तेरा हम भी तेरे’बाट धर्मेन्द्रले अभिनय करिअर सुरु गरेका थिए । तर, फिल्मसम्मको यात्रा तय गर्न उनका लागि सहज थिएन । मुम्बईमा टिक्नका लागि उनले सुरुमा ग्यारेज र ड्रिलिङ फर्ममा काम गरे, जहाँ उनले महिनाको २ सय रुपैयाँ तलब पाउँथे । यतिले खर्च धान्न नसक्ने भएपछि उनले ‘ओभरटाइम’ पनि गरे ।

मुम्बईमा संघर्ष गरिरहँदा धर्मेन्द्रले १९५० दशकको अन्त्यतिर ‘फिल्मफेयर ट्यालेन्ट हन्ट’मा भाग लिएका थिए । यो प्रतियोगिताको विजेता बनेपछि उनले निर्देशक अरजन देसाईको फिल्म ‘दिल भी तेरा हम भी तेरे’बाट डेब्युको अवसर पाए । तर, यो फिल्म व्यावसायिक रुपमा असफल हुन सकेन । सन् १९६६ मा आएको फिल्म ‘फूल और काटे’ले भने उनलाई रातारात स्टार बनायो । 

धर्मेन्द्रले फिल्ममा आउनुभन्दा अगाडि नै प्रकाश कौरसँग सन् १९५४ मा विवाह गरेका थिए । प्रकाशसँग उनका चार सन्तान छन्, सनी देओल, बबी देओल, विजेता देओल र अजिता देओल । सन् १९८० मा उनले इस्लाम धर्म अपनाएर ‘शोले’की अभिनेत्री हेमा मालिनीसँग दोस्रो विवाह गरेका थिए । उनीहरूका एक छोरी (ईशा) र एक छोरा (अहाना) छन् ।