Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मलाई यो समाजमा बाँच्न धेरै गाह्रो भइसक्यो : वर्षा राउत

फिल्मीखबर, काठमाडौं, 2025/11/24

Barsha Raut

 

अभिनेत्री वर्षा राउतको व्यक्तिगत जीवन निरन्तर चर्चा–विवादको केन्द्रमा रहँदै आएको छ । कहिले श्रीमानको परिवारसँग उनको राम्रो सम्बन्ध नभएको चर्चा हुने गर्छ, त कहिले वैवाहिक सम्बन्ध नै संकटमा पुगेको जस्ता दाबीहरू सार्वजनिक हुने गर्छन् । यी विषयमा वर्षाले सामाजिक सञ्जाल र मिडियामार्फत पटकपटक स्पष्टीकरण दिँदै आइरहेकी छन् ।

आइतबार वर्षाले डिभोर्सको चर्चाबीच श्रीमान् संजोग कोइरालासँग एक टेलिभिजनमा अन्तर्वार्ता दिएकी छन् । उक्त अन्तर्वार्तामा श्रीमानलाई सम्बोधन गर्दै प्रयोग गरेका केही शब्दका कारण यतिबेला उनको आलोचना भइरहेको छ । श्रीमानलाई इज्जत नगरेको भन्दै प्रतिक्रियाहरू आउन थालेपछि उनले सोमबार स्टाटस लेख्दै आफूलाई समाजमा बाँच्न धेरै गाह्रो भइसकेको बताएकी छन् ।

उनले फेसबुकमा लेखेकी छन्, ‘कहिलेकाहीँ मान्छेले आत्महत्याका विचार ल्याउनुपर्ने अवस्था सिर्जना हुन्छ । किनकि, उसले चाहेर होइन, समाजले बोकेको अपेक्षा, दबाब र अन्यायले मान्छेलाई घुमाउरो बाटोमा धकेलिदिन्छ । हाम्रो समाजले सदैव ‘सब राम्रो देखिनुपर्छ’ भन्ने मुखौटा लगाउन बाध्य पार्छ, तर भित्रको गल्ती, अन्याय, असमानता बदल्न कहिल्यै तयार हुँदैन ।’

श्रीमतीलाई अपमानजनक शब्दले गाली गर्दा मौन बस्ने समाज महिलाले श्रीमानलाई सामान्य रूपमा प्रयोग हुने ‘तिमी’ जस्तो शब्द बोल्दा समेत औँला उठाउने गरेकोप्रति वर्षाले असन्तुष्टि जनाएकी छन् । यस्तो दोहोरो मापदण्ड, बेइन्साफी र पक्षपातले धेरैलाई भित्रभित्रै कमजोर बनाइदिने र मानसिक रूपमा तोडिदिने उनको बुझाइ छ ।

‘कहिलेकाहीँ त लाग्छ, यस्तो समाजमा बाँच्नु नै किन यति कठिन छ ? र, सच्याइनु पर्ने त समाज आफैँ हो । तर, परिवर्तन चाहिँ सबैलाई चाहिन्छ भन्छन्, बदलिन भने कसैलाई मन छैन,’ उनले अगाडि लेखेकी छन्, ‘यही कारणले मान्छे एक्लो महसुस गर्छ, थाकिन्छ, र कहिलेकाहीँ अन्धकारतिर तानिन्छ । यो समाजमा बाँच्न मलाई साँच्चिकै धेरै गाह्रो भइसक्यो ।’