.jpeg)
अभिनेत्री वर्षा राउतको फिल्म करिअरले गत अप्रिलमा १० वर्ष पूरा गरेको छ । ‘नाइँ नभन्नू ल ४’बाट अभिनय करिअर सुरु गरेकी उनले त्यसयता एक दर्जनभन्दा बढी फिल्ममा काम गरिसकेकी छन् । कुनैमा ‘लभर गर्ल’ त कुनैमा गृहणी बनेर देखिएकी उनले हरेक भूमिकालाई जीवन्तता दिएकी छन् । अब एकपटक फेरि उनी विवाहित महिलाको भूमिकामा देखिँदैछिन्, फिल्म ‘हर्ष’मा ।
यही शुक्रबारबाट प्रदर्शनमा आउन लागेको यस फिल्ममा वर्षाले वंश धान्नैपर्ने पुरातन सोचको चेपुवामा परेकी बुहारीको भूमिका निभाएकी छन् । उनको जोडी खगेन्द्र लामिछानेसँग बाँधिएको छ । प्रायः मल्टीस्टारर फिल्ममा देखिने गरेकी उनी यसमा भने केन्द्रीय भूमिकामा छिन् । उनीमाथि नै फिल्मको कथा केन्द्रित छ । यसैले फिल्मलाई लिएर उनी उत्साहित देखिन्छिन् ।
‘हर्ष’मा दर्शकले आफूलाई तहगत रूपमा मूल्यांकन गर्ने उनको बुझाइ छ । भन्छिन्, ‘केन्द्रीय भूमिका भएपछि दर्शकले मेरो कामलाई अलि ध्यान दिएर हेर्नुहुन्छ भन्ने लागेको छ । वर्षाले यसमा कतिसम्म काम गरिन्, अघिल्ला फिल्मभन्दा अभिनयमा कति सुधार गरिन् भनेर दर्शकहरूले मूल्यांकन गर्नुहुन्छ भन्ने अपेक्षा राखेकी छु ।’
वर्षा आफैँ विवाहित भएकाले ‘हर्ष’मा निभाएको भूमिकामा उनले आफ्नै जीवनानुभूति पनि मिसाएको हुनसक्ने अनुमान धेरैले गरेका छन् । यसबारे उनी भन्छिन्, ‘मैले व्यक्तिगत जीवनभन्दा अलग राखेर फिल्मको पात्रमा काम गरेको छु । त्यहाँ मैले मेरा भोगाइहरू मिसाएको छैन । निर्देशकले खोजेको चरित्रमा इमानदार भएर आफूलाई ढाल्ने प्रयास गरेको छु ।’
उनले ‘हर्ष’लाई रुवाउने फिल्मको रुपमा मात्र नबुझ्न पनि आग्रह गरेकी छन् । फिल्मले दर्शकको आँसु झार्ने भए पनि त्यो खुसीको हुने उनको भनाइ छ । भन्छिन्, ‘यसमा परिवारभित्रको कथा छ । यसैले फिल्मले रुवाउने मात्र होला भन्ने पनि धेरैलाई लागेको हुनसक्छ । तर, त्यो होइन । यसले दर्शकहरूको आँसु त झार्छ, तर हर्षका । हरेक दर्शकले फिल्ममा आफ्नो कथा पाउनुहुन्छ ।’

