
नेपाली फिल्म क्षेत्रमा बजेट र कलाकारको आधारमा फिल्मलाई सानो-ठूलो भनेर छुट्याउने प्रवृत्ति सामान्यजस्तै भइसकेको छ । १-२ करोडमा बनेका फिल्म ‘साना’ कहलिन्छन् । स्थापित कलाकार भएका र ४-५ करोडको लागतमा बनेका फिल्मलाई भने ‘ठूलो फिल्म’ भन्दै प्रचार गरिने चलन छ । तर, नेपालमा साना भनेर उपेक्षा गरिएका फिल्महरू नै ज्यादा सफलता भइरहेका देखिन्छन् ।
यतिबेला फिल्म ‘अभिमन्यु’लाई पनि कतिपयले सानो फिल्मको कोटीमा राखेका छन् । जबकि, यसलाई ‘पूर्णबहादुरको सारङ्गी’का निर्माताले बनाएका हुन् । यो फिल्मलाई पनि प्रदर्शनअघि सानै फिल्म भनेर उपेक्षा गरिएको थियो । तर, रिलिजपछि फिल्मले इतिहास रच्यो । यसैले कुनै पनि फिल्मलाई प्रदर्शनअघि सानो वा ठूलो भनेर वर्गीकरण नगर्न यसका निर्माताले आग्रह गरेका छन् ।
निर्माता विनोद पौडेल भन्छन्, ‘फिल्म सानो र ठूलो भन्ने कुरा रिलिजपछि थाहा हुन्छ । कास्टिङ र बजेटले मात्रै फिल्मलाई ठूलो भन्न मिल्दैन । स्टारकास्ट हुँदैमा ठूलो र स्टारकास्ट नहुँदैमा सानो फिल्म भन्ने हुँदैन । न त ठूलो स्टाकास्ट भएका सबै फिल्म चल्छन् भन्ने ग्यारेन्टी हुन्छ । स्टारकास्ट नभएका फिल्म पनि धेरै चलेका छन् । त्यसैले सानो–ठूलो फिल्म भनेर बहस गर्नुको औचित्य छैन ।’
पौडेलले ‘अभिमन्यु’लाई अन्डरडगहरू (उपेक्षामा परेका व्यक्ति)को फिल्म भनेका छन् । किनकि, यो फिल्ममा दर्शकमाझ कमै चिनिएका तर अभिनयमा अब्बल कलाकारहरू छन् । उनले स्टारकास्ट नभएको फिल्म भनेर ‘अभिमन्यु’लाई नहेप्न समेत चेतावनी दिएका छन् । फिल्ममा कथा, अभिनय र प्रस्तुतिकरण बलियो रहेकाले दर्शकले सास रोकिने क्षणको अनुभव गर्ने उनको दाबी छ ।
मंसिर १८ गतेबाट प्रदर्शन हुन लागेको फिल्ममा कामेश्वर चौरसिया, सरिता गिरी, शिशिर वाङ्देल, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल लगायतको अभिनय रहेको छ । सुशान्त गौतमको निर्देशनमा बनेको फिल्ममा मुकेश खनालको लेखन छ । फिल्मको निर्माणमा विनोदले गुञ्जन गिरीसँग सहकार्य गरेका छन् भने सह-निर्माताहरू रमेश चौलागाईं र हरि श्रेष्ठ हुन् ।

