
बलिउड सुपरस्टार सलमान खानको सुपरहिट फ्रेन्चाइज हो, ‘दबंग’ । यसका तीनवटै श्रृंखलाले बक्स अफिसमा राम्रो सफलता हासिल गरे । सन् २०१९ मा रिलिज भएको ‘दबंग ३’पछि भने यसको नयाँ श्रृंखला आउन सकेको छैन । तर, अब ‘दबंग ४’को निर्माण प्रक्रिया सुरु गरिएको छ । यसको पुष्टि फिल्मका निर्माता तथा कलाकार अरबाज खान स्वयंले गरेका छन् ।
हालै एक अन्तर्वार्तामा फिल्मबारे जानकारी दिँदै उनले भने, ‘अब ‘दबंग ४’ बनाउने तयारीमा छौं । फिल्ममाथि काम भइरहेको छ । तर, हामीलाई कुनै हतार छैन । यो पाइपलाइनमा अवश्य छ, तर कहिलेसम्म बन्छ भन्ने चाहिँ मलाई पनि थाहा छैन । जब यो बन्नेछ, अद्भूत बन्नेछ ।’ उनले सलमानसँग लामो छलफल गरेर मात्र फिल्म बनाउने पनि स्पष्ट पारेका छन् ।
अरबाजले मात्र नभइ सलमानले पनि ‘दबंग ४’ बन्ने संकेत दिइसकेका छन् । केही समयअघि ‘इन्डियन सुपरक्रस रेसिङ लिग’को लञ्च इभेन्टमा उनले दंबग शैलीमा चश्मा टिसर्टको पछाडि राख्दै भनेका थिए, ‘यो ‘दबंग ४’का लागि ।’ ‘दबंग’का श्रृंखलामा चुलबुल पाण्डे (प्रहरी)को भूमिकामा देखिँदै आएका उनी चौथो श्रृंखलामा भने प्रहरीको जागिर छाडेर राजनीतिमा प्रवेश गर्ने चर्चा छ ।
सन् २०१० मा रिलिज भएको ‘दबंग’ले भारतमा १४० करोड रुपैयाँको व्यापार गर्दै सलमानको स्टारडम उत्कर्षमा पुर्याएको थियो । यसको दोस्रो श्रृंखलाले अझ ठूलो सफलता प्राप्त गर्यो । ‘दबंग २’ (२०१२)को व्यापार १५५ करोड थियो । तर, तेस्रो श्रृंखलाले अपेक्षित व्यापार गर्न सकेन । एक सय करोडको लागतमा बनेको फिल्मले भारतमा १४६ करोड मात्र कमाइ गर्यो ।

