Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

टुट्यो ‘जेरी अन टप’को रेकर्ड, ‘परान’ बन्यो वर्षको सर्वाधिक कमाउने फिल्म

फिल्मीखबर, काठमाडौं, 2025/11/21

jerry on top and paran

 

यस वर्ष नेपाली फिल्मबीच बक्स अफिसमा रेकर्ड बनाउने होडबाजी चलिरहेको छ । ६ महिनामा तीन फिल्मले व्यापारमा रेकर्ड बनाइसकेका छन् । यस वर्ष सर्वाधिक कमाउने पहिलो फिल्म ‘ऊनको स्वीटर’ हो । यसलाई गत कात्तिकमा फिल्म ‘जेरी अन टप’ले उछिन्यो । अब यसको पनि रेकर्ड टुटेको छ । फिल्म ‘परान’ले प्रदर्शनको २१ दिनमा यस वर्षका सबै रेकर्डहरू तोडेको हो ।

‘जेरी अन टप’ले बिहीबारसम्म सिनेपाः बक्स अफिसमा १२ करोड १४ लाख रुपैयाँ ग्रस कमाएको देखिन्छ । ‘परान’को व्यापार १२ करोड ६६ लाख रुपैयाँ नाघेको छ । अब यो फिल्म २० करोडमुनि व्यापार गर्ने ‘१२ गाउँ’, ‘जारी’, ‘छक्का पञ्जा ५’, ‘कोहिनूर’ जस्ता फिल्मको रेकर्ड तोड्ने दौडमा छ । यदि यसो भएमा ‘परान’ नेपाली फिल्मको इतिहासमा सर्वाधिक कमाइ गर्ने तेस्रो फिल्म बन्नेछ ।

शुक्रबारबाट चौथो हप्तामा प्रवेश गरेको फिल्मले अहिले पनि देशभरका हलमा उल्लेख्य शोसहित दर्शकको राम्रो साथ पाइरहेको छ । बिना विदामा समेत फिल्मका शोहरू दैनिक ३०-४० वटा हाउसफुल भइरहेका छन् । विदाको दिनमा त फिल्मको टिकट नै हाहाकार हुने गरेको देखिन्छ । आगामी दिनमा पनि दर्शकको आकर्षण यस्तै देखिए ‘परान’लाई २० करोडको आँकडा टाढा छैन ।

यो फिल्मले दर्शकको ठूलो वर्गलाई आकर्षित गर्नुको मुख्य कारण यसको भावनात्मक कथावस्तु र कलाकारहरूको अभिनय हो । फिल्ममा बाबु-छोराको सम्बन्धलाई मर्मस्पर्शी रूपमा प्रस्तुत गरिएको छ, जसले गर्दा दर्शकहरू हलभित्रै रोइरहेका छन् । ती भिडियोहरू टिकटकजस्ता सामाजिक सञ्जालमा भाइरल हुँदा त्यसले पनि फिल्मको लोकप्रियता बढाउन ठूलो भूमिका खेलेको छ ।