Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘बाटुलो जून’को मुहूर्त, अनमोलको जोडी नेन्सी कि प्रिन्सी ?

फिल्मीखबर, काठमाडौं, 2025/11/21

anmol kc

 

अभिनेता भुवन केसीले ९ वर्षपछि निर्देशनमा पुनरागमन गर्न लागेको फिल्म ‘बाटुलो जून’को शुभमुहूर्त गरिएको छ । शुक्रबार ललितपुरको पाटनस्थित बंगलामुखी मन्दिरमा फिल्मका कलाकारदेखि निर्माता-निर्देशकले स्क्रिप्ट, क्ल्याप र क्यामेरा पूजा गर्दै काठमाडौंमा छायांकनको औपचारिक सुरुआत गरे । यसअघि धादिङको नौबिसेमा फिल्मका केही दृश्य खिचिएको थियो । 

सनराइज पिक्चर्सको ब्यानरमा निर्माण हुने फिल्ममा अनमोल केसी, नेन्सी खड्का र प्रिन्सी खतिवडाको मुख्य भूमिका रहनेछ । नेन्सी र प्रिन्सीमा अनमोलको जोडी कोसँग बाँधिनेछ भन्नेबारे जानकारी गराइएको छैन । फिल्ममा प्रकाश घिमिरे, रेअर राई, दीपक केसी, श्वेता मिश्र, लक्ष्मी गिरी, शारदा गिरी, लक्ष्मीनाथ तिमिल्सिना लगायतको पनि अभिनय रहनेछ ।

पछिल्लो पटक ‘ड्रिम्स’ निर्देशन गरेका भुवनले ‘बाटुलो जून’ ग्रामिण परिवेशको विशुद्ध प्रेमकथामा आधारित रहने बताए । उनले भने, ‘कतिपय कथा आफूले खोजिन्छ । कतिपय कथाले हामीलाई खोज्छन् । ‘बाटुलो जून’ हामीलाई खोज्दै आएको कथा हो ।’ उनका अनुसार फिल्ममा दर्शकले अनमोललाई भिन्न लुक्स र अवतारमा देख्न पाउनेछ ।

त्यस्तै, अनमोलले बुबा (भुवन केसी)ले ‘चिनो’, ‘सम्झना’, ‘कुसुमे रूमाल’ जस्ता फिल्ममा निभाएको भूमिका र ती फिल्महरूमा देखिएको लुक्समै आफू प्रस्तुत हुन लागेकाले बुबाकै विरासत धान्ने गरि फिल्ममा जोडिएको बताए । उनका अनुसार फिल्ममा लवज, भाषा र पहिरनसहित धेरै कुरा भिन्न तरिकाले प्रस्तुत हुनेछ । फिल्मको पात्रका लागि उनले जुँगा पालेका छन् ।

जीया केसी र भविष्य खड्का निर्माता रहेको फिल्मको छायांकन काठमाडौंसँगै ढोरपाटन, काभ्रेपलाञ्चोक, चित्लाङ र पोखरामा ४५ दिनसम्म हुनेछ । फिल्ममा तेजबिक्रम केसी कार्यकारी निर्मातामा छन् भने लेखन सामिप्यराज तिमिल्सेना र सरिन पोखरेलको छ । यसमा छायांकन राजेश श्रेष्ठको रहनेछ । फिल्मका गीतमा रेनशा वान्तवा राईले कोरियोग्राफी गर्नेछिन् ।