
भनिन्छ, ‘१२ वर्षमा बगेको खोलो पनि फर्किन्छ ।’ निर्देशक प्रवीण श्रेष्ठको हकमा पनि यस्तै भएको छ । डेब्यु फिल्म ‘मोक्ष’ (२०७०) रिलिजको १२ वर्षपछि उनी नयाँ फिल्म ‘बब डाइ’मार्फत् निर्देशनमा फर्किएका छन् । गत सोमबारबाट काठमाडौंको चन्द्रागिरीमा फिल्मको छायांकन सुरु भइसकेको छ । काठमाडौं आसपासका क्षेत्रमा ४५ दिन फिल्मको छायांकन हुनेछ ।
नेवारी संस्कृतिमा आधारित यस फिल्ममा सौगात मल्ल, सिम्रन पन्त, सन्तोष पन्त, यमन श्रेष्ठ, विशाल पहाडी, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, कुशल पोखरेल, कृष्णभक्त महर्जन, भिन्तुना जोशी, अग्रिम पन्डित (बाल कलाकार) लगायतको अभिनय देख्न सकिनेछ । फिल्मको कथा सौगातमा केन्द्रित रहेको जनाइएको छ ।
फिल्मका निर्माताहरू राजेश घिमिरे, रोशन भट्टराई र सुनील मानन्धर (वितरक) हुन् भने रविन्द्र प्रजापति कार्यकारी निर्माताको रूपमा छन् । प्रवीण र मैनिषा गौचनको स्क्रिप्ट लेखन रहेको फिल्ममा श्याम तामाङ छायाँकारमा छन् । यसको सम्पादन निर्देशक श्रेष्ठ आफैंले गर्नेछन् । फिल्मको सम्पूर्ण छायांकन सकिएपछि मात्र प्रदर्शन मिति घोषणा गर्ने योजनामा निर्माण पक्ष छ ।
निर्देशक श्रेष्ठले फिल्ममा कीर्तिपुरको कथा रहेको बताए । उनले फिल्मको नामबारे भने, ‘खासमा ‘बब डाइ’ भनेको ‘ठूलो दाइ’ हो । नेवार समुदायमा अनुभवी वा ज्येष्ठ पुरुषलाई ‘बब डाइ’ भनिन्छ । फिल्मको कथा नेवारी समुदायमा आधारित भएकाले नाम पनि नेवारीमा राखेका हौं ।’ उनका अनुसार बब डाइको भूमिकामा सौगात मल्ल देखिनेछन् ।

