नेपालमा नृत्यमा निपूर्ण पुरुष कलाकारहरू विरलै छन् । अभिनयमा सशक्त मानिएका कलाकारहरू समेत नृत्यमा कमजोर देखिन्छन् । दयाहाङ राईदेखि खगेन्द्र लामिछानेसम्म प्रायः कमजोर नृत्यकै कारण आलोचनाको शिकार हुने गरेका छन् । तर, पछिल्लो समय दयाहाङले नृत्यमा केही हदसम्म सुधार गरेको भए पनि खगेन्द्र भने नाच्नुपर्ने फिल्ममा हत्तपत्त हात नै हाल्दैनन् ।
यही मंसिर १२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘हर्ष’को दुईवटा गीत ‘सिठ्ठी मार’ र ‘कुटु कुटु’मा भने खगेन्द्रले जसोतसो नृत्य गर्ने प्रयास गरेका छन् । तर, नृत्यमा उनको असहजता र अप्ठ्यारोपन गीतको भिडियोमा प्रष्ट देखिन्छ । यो महसुस उनलाई पनि भएको छ । यसैले अब उनी आफूले फिल्ममा नाच्न प्रयास गर्नै हुँदैन भन्ने निष्कर्षमा पुगेका छन् ।
बिहीबार काठमाडौंमा आयोजित पत्रकार भेटघाटमा उनले भने, ‘मैले निर्देशक (एकता पौडेल)लाई पहिल्यै नाच्ने कुरा चाहिँ मलाई आउँदैन, नगराउँदा नै राम्रो हुन्छ भनेर भनेको थिएँ । तर, कलाकार भएर काम गरिसकेपछि निर्देशकले यस्तो गर्नुपर्यो भनेपछि गर्दिनँ भन्न पनि मिलेन । ठीकै छ एउटा नयाँ अनुभव पनि भयो । अब म नाच्नु हुँदै हुँदैन भन्ने झन् बढी थाहा पाएँ ।’
खगेन्द्र आफू कहिल्यै नृत्य नसिक्ने पनि स्पष्ट पार्छन् । ‘म जेजस्तो भए पनि डान्स चाहिँ सिक्दिनँ । मेरो बलबुतामा यो छैन,’ उनी अगाडि भन्छन्, ‘म जहिले पनि नयाँ फिल्मको अफर आउँदा स्क्रिप्ट र पारिश्रमिकभन्दा पनि सुरुमै नाच्नुपर्छ कि पर्दैन भनेर सोध्छु । गीत छैन भनेपछि मात्र अब कुरा गरौं भन्छु । ‘हर्ष’मा चाहिँ म कसरी झुक्किएँ थाहै पाइनँ ।’
कुनै बेला नृत्यमा कमजोर मानिएका दयाहाङलाई अहिले खगेन्द्रले नृत्यमा आफ्नो गुरु नै मानेका छन् । ‘दयाहाङ राईले नृत्यमा धेरै सुधार गर्नुभयो, तपाईँले प्रयास नगर्ने ?’ भन्ने पत्रकारको प्रश्नमा खगेन्द्रले भने, ‘अहिले त दयाले नाच्न सिकिसक्यो । ऊ त मेरो डान्सको गुरु हो । विजय बरालले पनि ‘न्याउनी वनैमा’ गीतमा राम्रो नाचेको देख्दा खुसी लाग्यो । तर, म चाहिँ सिक्दिनँ ।’

