Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

भारतमा ‘ऊनको स्वीटर’को प्रचार गर्न सिक्किममा गुञ्जिए सुजन

फिल्मीखबर, काठमाडौं, 2025/11/20

sujan chapagai (2)

 

शुक्रबारबाट भारतका हलहरूमा प्रदर्शन हुन लागेको फिल्म ‘ऊनको स्वीटर’को प्रचारका लागि बुधवार सिक्किमको राजधानी गान्तोकस्थित महात्मा गान्धी (एमजी) मार्गमा गायक सुजन चापागाईँले सांगीतिक प्रस्तुति दिएका छन् । ‘ऊनको स्वीटर साँझ’ नाम दिइएको कार्यक्रममा हजारौंको संख्या नेपाली भाषी दर्शकको उपस्थिति रहेको थियो ।

कार्यक्रममा गायक चापागाईँले ‘ऊनको स्वीटर’मा समावेश आफ्ना चर्चित गीतहरू प्रस्तुत गरेका थिए । उनीसँगै नेपालबाट गएका अभिनेता विपिन कार्की, अभिनेत्री भावना खपांगी मगर, निर्देशक नवीन चौहान, गीतकार हर्क साउद, सङ्गीत निर्देशक कोविद बज्र, छायाँकार चिन्तन राजभन्डारी, कार्यकारी निर्माताहरू मिलन खत्री र सागर बुढाथोकी पनि कार्यक्रममा उपस्थित थिए ।

सिक्किम र दार्जिलिङ क्षेत्रका कलाकारहरू समेत कार्यक्रमको आकर्षण बने । अनमोल गुरुङ, प्रकाश क्षेत्री, सिम्रन गुरुङ, रिको लामा, र्‍यापर देवा, सोनम ओङ्मु इथेन्पा लगायतले आफ्ना चर्चित गीतहरू गाएका थिए भने अमृता राईले फिल्ममा समावेश गीत ‘काफ्ले’मा नृत्य गरिन् । नेपालबाट गएका सुरज सिंहजाली मगरले ‘चाइनेजो जिन्दगानी’ गीतमा प्रस्तुति दिए ।

 

sujan chapagai (1)


‘ऊनको स्वीटर’ नोभेम्बर २१ अर्थात् शुक्रबारदेखि दार्जिलिङ, सिलिगुडी, गान्तोक, कर्स्याङ, कालिम्पोङ, आसाम र दिल्लीका प्रमुख हलहरूमा प्रदर्शन हुँदैछ । भारतको केन्द्रीय फिल्म प्रमाणन बोर्डबाट सेन्सर पास भइसकेको फिल्मलाई एसली प्रोडक्सनले वितरण गर्दैछ। बिहीबार साँझ सिक्किममा फिल्मको विशेष प्रिमियर शो आयोजना गरिएको छ ।

नेपालमा साढे ११ करोडको व्यापार गरेको ‘ऊनको स्वीटर’मा विपिन कार्की, मिरुना मगर, एलेक्स पारस, परीक्षा लिम्बु, विल्सन विक्रम राई लगायतको अभिनय रहेको छ । अन्तरजातीय प्रेमकथामा आधारित यस फिल्मका ‘फूलहरू मुस्काउँछन्’, ‘मखमली’, ‘काफ्ले’, र ‘चाइनेजो जिन्दगानीमा’ गीत दर्शकमाझ लोकप्रिय छन् ।