
घरेलु बक्स अफिसमा सानदार कमाइ गरिरहेको फिल्म ‘परान’लाई देशकै सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्स सिनेमाजले ‘सुपरहिट’को मान्यता दिएको छ । यो चेनले बुधबार आफ्नो वेबसाइटमार्फत फिल्मलाई उक्त ट्याग दिएको हो । क्यूएफएक्सले प्रदर्शनको तेस्रो सातामा कुनै फिल्मलाई ‘सुपरहिट’ घोषणा गरेको यो पहिलो पटक हो ।
क्यूएफएक्स चेनले पहिलो तीन दिनमा डेढ करोड कमाउने फिल्मलाई ‘ब्लकबस्टर’ र सोही बराबरको कमाइ एक हप्ताभित्र भएमा ‘सुपरहिट’को मान्यता दिने मापदण्ड बनाएको छ । अहिलेसम्म ‘ब्लकबस्टर’को ट्याग कुनै फिल्मले पाएका छैनन् । ‘परान’ले क्यूएफएक्स चेनमा मात्र डेढ करोडभन्दा बढीको व्यापार गरेकाले ‘सुपरहिट’को मान्यता पाएको देखिन्छ ।
‘परान’ यतिबेला यस वर्षको सर्वाधिक कमाइ गर्ने फिल्मको कीर्तिमान बनाउने दौडमा छ । प्रदर्शनको १६ दिनमा झन्डै १० करोड कमाएको यो फिल्मले तेस्रो सातामा पनि आक्रामक कमाइ गरिरहेकाले आगामी शनिबारसम्म साढे १२ करोडको आँकडा छुनसक्ने प्रक्षेपण गरिएको छ । यदि यसो भएमा फिल्म ‘जेरी अन टप’को नाममा रहेको यस वर्षको सर्वाधिक कमाइको रेकर्ड तोडिनेछ ।
बाबु-छोराको भावनात्मक सम्बन्धको कथामा आधारित यस फिल्ममा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, अञ्जना बराइली, महेश त्रिपाठी, प्रविन खतिवडा, बुद्धि तामाङ, बबिन राई लगायतको अभिनय रहेको छ । फिल्मलाई दीपक प्रसाद आचार्यले निर्देशन गरेका हुन् । पहिलो निर्देशकीय फिल्ममै उनले ठूलो व्यावसायिक सफलता प्राप्त गरेका छन् ।

