Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निर्देशकको रुपमा ‘पीआर’ मेरो दोस्रो जन्म हो : शोभित बस्नेत

फिल्मीखबर, काठमाडौं, 2025/11/19

shovit basnet

 

कुनै बेलाका ‘हिट मेसिन’ हुन्, निर्देशक शोभित बस्नेत । उनले आफ्नो करिअरमा ‘राजु राजा राम’, ‘कर्णवीर’, ‘दुर्गा’, ‘धूम’, ‘चोर सिपाही’ जस्ता थुप्रै सफल फिल्म दिएका छन् । तर, समयसँगै बदलिँदो दर्शकको रुचिका कारण उनका पछिल्ला फिल्मले त्यति प्रभाव जमाउन सकेका छैनन् । अब उनलाई ठूलो आशा आफ्नो नयाँ फिल्म ‘पीआर’प्रति छ, जुन २६ मंसिरदेखि प्रदर्शन हुँदैछ ।

करिब ४ वर्षपछि निर्देशनमा फर्किएका शोभितले ‘पीआर’लाई निर्देशकको रुपमा आफ्नो दोस्रो जन्म मानेका छन् । ‘कर्णवीर’को समयमा राम्रो फिल्म बनाउनुपर्छ भनेर काम गरेको भए पनि बीचमा व्यक्तिगत जीवनका आवश्यकताका कारण कामचलाउ फिल्म बनाएको स्वीकार गर्दै उनले अब फेरि राम्रो फिल्म बनाउनुपर्छ भनेर त्यसको सुरुवात ‘पीआर’बाट गरेको बताए । 

मंगलबार काठमाडौंमा आयोजित पत्रकार भेटघाटमा उनले भने, ‘पहिला ‘कर्णवीर’को बेला राम्रो फिल्म बनाउनुपर्छ भनेर सोच्थेँ । बीचमा राम्रो होइन, म बाँच्नु पनि पर्छ भनेर कामचलाउ फिल्म बनाएँ । अहिले फेरि राम्रो फिल्म बनाउनुपर्छ भनेर ‘पीआर’ बनाएको छु । निर्देशकको रुपमा यो फिल्म मेरो दोस्रो जन्म हो । दोस्रो जन्म अझ राम्रो हुन्छ भन्ने विश्वास लिएको छु ।’

‘पीआर’को कथाको सुरुवात आफ्नै छोरीबाट भएको उनको भनाइ छ । ‘सन्तान विदेश गएपछि नेपालमा बस्ने अभिभावकलाई विदेशमा बोटमा पैसा फल्छ भन्ने लाग्छ । मलाई पनि त्यस्तै हुन्थ्यो । जब म छोरीलाई भेट्न अष्ट्रेलिया गए, त्यसपछि वास्तविकता थाहा पाएँ । त्यसलाई नै मैले फिल्ममा उतारेको छु । विदेश हुन् वा नेपाल, सबैलाई ‘पीआर’ आफ्नै कथा लाग्नेछ,’ उनले भने । 

दशैंअघि फिल्मको प्रिमियरका लागि अष्ट्रेलिया गएका शोभित मंगलबार फेरि रिलिजको चाँजोपाँजो मिलाउन अष्ट्रेलिया प्रस्थान गरेका छन् । त्यहाँबाट उनी न्यूजिल्यान्ड पनि पुग्नेछन् । दुवै देशमा फिल्मलाई बक्स अफिसमा रिलिजको तयारी भइरहेको उनले बताए । दुई देशमा १० दिनको बसाइँपछि नेपाल फर्किएर फिल्मको प्रचारमा जुट्ने उनको योजना छ ।