
अभिनेत्री साम्राज्ञी आरएल शाह विवाह बन्धनमा बाँधिने भएकी छन् । मंगलबार आफ्नो जन्मदिन मनाइरहेकी उनले मंसिर १ गते (हिजो) प्रेमीसँग इन्गेजमेन्ट गरेकी छन् । सामाजिक सञ्जालमा इन्गेजमेन्टका तस्वीरहरू सेअर गर्दै उनले नयाँ जीवनको सुरुवात गर्न लागेको जानकारी दिएकी हुन् । उनले प्रेमीको नाम भने खुलाएकी छैनन् ।
प्रेमीको प्रशंसा गर्दै उनले इन्स्टाग्राममा लेखेकी छन्, ‘जसका लागि मैले प्रार्थना गरेकी थिएँ । मेरो भाषा बोल्न सक्ने शान्त आत्मा, म तपाईंप्रति यति आभारी छु कि त्यो शब्दहरूभन्दा बाहिर छ । जब तिम्रा आँखा मेरा आँखामा पर्छन्, त्यहाँ एउटा विशेष जादू हुन्छ, एक मौन कुराकानी जसले धेरै कुरा बोल्छ । मेरो हात यति बलियोसँग समातेकोमा धन्यवाद, यो छुट्ने छैन ।’
साम्राज्ञीले सेअर गरेका तस्वीरमा उनका प्रेमीको अनुहारको आधा भाग मात्र देखिन्छ । यद्यपि, तस्वीरमा उनीहरू रोमान्टिक देखिएका छन् । साम्राज्ञीको इन्स्टाग्राम पोस्टमा स्वेता खड्का, प्रियंका कार्की, सन्ध्या केसी, ओसिन सिटौला, नम्रता सापकोटा लगायतका सेलिब्रेटीहरूले बधाई दिएका छन् । उनीहरूको विवाह यसै वर्ष हुने जनाइएको छ ।
मंगलबारबाट ३० वर्षमा प्रवेश गरेकी साम्राज्ञीले फिल्म ‘ड्रिम्स’बाट अभिनय करिअर सुरु गरेकी थिइन् । यसपछि उनले ‘ए मेरो हजुर २’, ‘इन्टु मिन्टु लण्डनमा’, ‘तिमीसँग’, ‘मारुनी’, ‘ह्यारी कि प्यारी’ लगायतका फिल्ममा अभिनय गरिसकेकी छन् । तर, ‘ए मेरो हजुर २’पछि उनका कुनै फिल्म सफल छैनन् । उनी चाँडै नयाँ फिल्म ‘आहुती’का दुई श्रृंखलामा देखिँदैछिन् ।

