.jpg)
अभिनेत्री बेनिशा हमाल कार्यकारी निर्माता रहेको फिल्म ‘द ब्लू लाइट’को प्रदर्शन मिति झन्डै एक महिना पछाडि सरेको छ । मंसिर १२ गते प्रदर्शन हुने भनिएको यो फिल्म अब आगामी पुष १० गतेबाट प्रदर्शनमा आउनेछ । सोमबार एक पोस्टर सार्वजनिक गर्दै निर्माण पक्षले नयाँ प्रदर्शन मिति घोषणा गरेको हो । पुष १० मा अर्को फिल्म ‘मुगलान’ पनि छ ।
फिल्मको सार्वजनिक पोस्टरमा महेश त्रिपाठी, अर्पण थापा, बेनिशा हमाल, सृष्टि श्रेष्ठ र आयुशमान देशराज जोशीलाई प्रस्तुत गरिएको छ । उनीहरूको अनुहारमा तनाव, नैराश्यता र बदलाको भाव देखिन्छ । विशेषगरी महेश हातमा बञ्चरो लिएर क्रूद्ध मुद्रामा देखिनुले फिल्मको गम्भीर र रहस्यमय घटनाक्रमलाई उजागर गर्छ ।
बलिराम चौहानको लेखन तथा निर्देशनमा बनेको यस फिल्ममा सुरक्षा इटानी, ग्रिसमा कटुवाल, सहारा शर्मा लगायतको पनि अभिनय रहेको छ । फिल्मका निर्माता निर्देशक चौहान स्वयं हुन् भने सह-निर्मातामा भोलानाथ कटुवाल र रमन ग्रे रहेका छन् । साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भएको फिल्ममा नरेन्द्र मैनालीको छायांकन तथा लोकेश बज्रचार्यको सम्पादन छ ।

