Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रचारमा ‘हर्ष’ : चितवनका दर्शक फकाउँदै वर्षा

फिल्मीखबर, काठमाडौं, 2025/11/16

barsha raut

 

प्रदर्शन मिति नजिकिँदै जाँदा फिल्म ‘हर्ष’को प्रचार अभियान तीव्र बनाइएको छ । ट्रेलर र गीत सार्वजनिक भएपछि फिल्मको टिम प्रचारका लागि चितवन पुगेको छ । आइतबार फिल्मका कलाकारदेखि निर्देशकसम्मले त्यहाँका कलेज र महोत्सवमा उपस्थित भएर दर्शकसँग प्रत्यक्ष भेटघाट गरे । चितवन फिल्मकी निर्देशक एकता पौडेलको गृहजिल्ला समेत हो ।

आइतबार बिहान पत्रकार भेटघाटपछि निर्देशक पौडेलसहित फिल्मका कलाकारहरू सन्तोष पन्त, वर्षा राउत, साइमन वादी र कोरियोग्राफर सुनिल क्षेत्री चितवनको ग्लोरियस एकेडेमी (कलेज) पुगेका थिए । त्यहाँ उनीहरूले विद्यार्थीसँग फिल्मको गीतमा नृत्य समेत गरे । यसपछि फिल्मको टिमले नारायणी नदी किनारमा जारी ‘खेलकुद तथा व्यापार महोत्सव’मा पुगेर प्रचार गर्‍यो ।

चितवनमा आयोजित पत्रकार भेटघाटमा निर्देशक पौडेलले सबैले भोगेको र देखेको कथामा आफूले फिल्म बनाएको बताइन् । अमेरिकामा फिल्म मेकिङको अध्ययन गरेकी उनले भनिन्, ‘फिल्मको कथा नयाँ होइन । हामी सबैले हाम्रै वरपर देखेकै कथा हो । त्यसमा मैले फिल्म मेकिङ पढ्दा सिकेको ‘टेक्निक’लाई ‘मिक्स’ गरेको छु । दर्शकलाई फिल्म मनपर्छ भन्ने विश्वास छ ।’ 

मंसिर १२ गतेबाट प्रदर्शन हुन लागेको यस फिल्ममा सन्तोष, वर्षा र साइमनसहित खगेन्द्र लामिछाने, नीर शाह, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, लुनिभा तुलाधर, अंशु महर्जन, सुवर्ण थापा, सिर्जना नापित लगायतको अभिनय रहेको छ । यसमा आलोक शुक्लाको छायांकन, लोकेश बज्राचार्यको सम्पादन तथा समीर−हिमाल, वसन्त सापकोटा र एलिस कार्कीको संगीत छ ।