.jpg)
अभिनेत्री सुरक्षा पन्तले करिअरको सुरुवातदेखि फिल्म असफलताको दबाब अलि बढी नै सामना गर्दै आइरहेकी छन् । १० वर्ष लामो करिअरमा उनका हिटभन्दा फ्लप फिल्मको संख्या धेरै छ । यद्यपि, फिल्म असफल भए पनि उनको अभिनयले भने निरन्तर प्रशंसा बटुल्दै आएको छ । यही कारण, व्यावसायिक सफलता कम भए पनि उनी निर्माता−निर्देशकको रोजाइमा परिरहेकी छन् ।
सुरक्षाका फिल्मको असफलताको श्रृंखला यस वर्ष पनि टुटेको छैन । बैशाखदेखि कात्तिकसम्म उनका चारवटा फिल्म प्रदर्शनमा आएका छन्, बैशाख १२ गते ‘खेल’, भदौ १२ गते ‘कोशेढुंगा’, असोज ३१ गते ‘जेरी अन टप’ र कात्तिक २८ गते ‘धागो’ । यसमध्ये ‘जेरी अन टप’ मात्र व्यावसायिक रुपमा सफल भयो । तर, यसमा उनको छोटो भूमिका रहेकाले सफलताको श्रेय पाउन सकिनन् ।
एकै वर्षमा तीन फिल्म असफल हुँदा सुरक्षाको करिअर थप चुनौतीपूर्ण मोडमा पुगेको छ । उनका फिल्महरू दुई दिन पनि हलमा टिक्न नसक्ने अवस्थामा पुगेका छन् । ‘खेल’ एक साता मुस्किलले हलमा अडिएको थियो । गत शुक्रबार प्रदर्शन भएको ‘धागो’ भने दुई दिनमै प्रायः हलबाट उत्रिएको छ । आइतबारका लागि यो फिल्मको देशव्यापी शो एउटा मात्र छ । सोमबारलाई त्यो पनि छैन ।
७ महिनामै फ्लपमा ह्याट्रिक पूरा गरेकी सुरक्षाले अब फिल्म र टिम छनोटमा विशेष ध्यान दिनुपर्ने देखिन्छ । पछिल्लो समय उनका फिल्मबारे दर्शकमाझ पर्याप्त जानकारी नै पुग्न सकेको छैन । गुपचुप शैलीमा उनका फिल्महरू रिलिज भइरहेका छन् । जसले गर्दा सुरक्षाले असफलताको भार मात्र नभइ आफ्नो कामको उचित मूल्यांकनबाट समेत बञ्चित हुनुपर्ने अवस्था सिर्जना भएको छ ।

