दिनेश राउतको निर्देशनमा बनेको लभस्टोरी फिल्म ‘कुमारी’को छायांकन सकिएको छ । गत भाद्र १७ गतेबाट सुरु गरिएको फिल्मको छायांकन शुक्रबार औपचारिक रूपमा पूरा भएको हो । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण फिल्मको एक साता छायांकन रोकिएको थियो । छायांकन सकिएसँगै आइतबारबाट फिल्मको पोस्ट-प्रोडक्सनको काम सुरु गरिएको छ ।
निर्माण पक्षले फिल्मको प्रदर्शन मिति घोषणा गरिसकेको छैन । पोस्ट–प्रोडक्सनको प्रगति हेरेर केही दिनमा प्रदर्शन मिति घोषणा गर्ने तयारी गरिएको छ । महेन्द्र अधिकारीले फिल्मको निर्माण गरेका हुन् । यसअघि उनले अभिनेता प्रदीप खड्कालाई मुख्य भूमिकामा लिएर फिल्म ‘प्रकाश’ बनाएका थिए, जसको निर्देशन राउतले नै गरेका थिए ।
फिल्मको घोषणा कार्यक्रममा गायक केहर सिंह लिम्बू र उनको ब्यान्डले गाएको गीत ‘कता छौ मेरो फूल’ दर्शकमाझ लोकप्रिय बनेको छ । हाल देशव्यापी कन्सर्टमा रहेका गायक लिम्बूले सो गीत पनि गाइरहेका छन् । यो गीतलाई युट्युबमा ७ लाखभन्दा बढीले हेरेका छन् भने टिकटकमा एक लाख बढी भिडियो बनेका छन् । गीतको लोकप्रियताले फिल्मको पनि चर्चा चुलिएको छ ।
‘कुमारी’मा अबिषेक खड्का र आकृति राजभन्डारी मुख्य भुमिकामा छन् । मोडल आकृतिको यो डेब्यु फिल्म हो । यसमा घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनीषा शर्मा लगायतको पनि अभिनय रहेको छ । सुसन प्रजापतिको छायांकन रहेको फिल्ममा विकास सुवेदीको लेखन छ ।

