.jpg)
गायक अशोक दर्जीको जीवनकथामा आधारित फिल्म ‘मन बिनाको धन’ले घरेलु बक्स अफिसमा सुखद व्यापार गरिरहेको छ । प्रदर्शनको पहिलो साता १ करोड ६७ लाख कमाइ गरेको फिल्मले शनिबार बिहान ८ बजेसम्म २ करोडको आँकडा नघाएको छ । ‘परान’ र ‘जारी २’ जस्ता फिल्मसँग प्रतिस्पर्धा र न्यून शोका बाबजुद पनि फिल्मले गरेको कमाइलाई उत्साहजनक मान्न सकिन्छ ।
फिल्मले दोस्रो हप्ताको शनिबार पनि देशभर दर्शकको राम्रो साथ पाएको छ । शनिबार फिल्मको देशव्यापी अकुपेन्सी ७० प्रतिशत हाराहारी देखिएको छ भने काठमाडौंसहित भरतपुर, नेपालगञ्ज जस्ता सहरमा फिल्मका शोहरू बिहानैदेखि हाउसफुल छन् । फिल्मप्रति दर्शकको उत्साह र सकारात्मक प्रतिक्रियाका कारण धेरै हलले शो समेत बढाएका छन् ।
नेपालसँगै फिल्मले कतार, युएई र बहराइनमा पनि राम्रो प्रदर्शन गरेको छ । कतारमा बिहीबार र शुक्रबार फिल्मका दुई शो नै हाउसफुल भएका थिए । कतारमा दुई शो हाउसफुल हुने ‘मन बिनाको धन’ पहिलो नेपाली फिल्म बनेको वितरक कम्पनी साथीभाई इन्टरटेन्मेन्टले दाबी गरेको छ । युएई र बहराइनमा पनि फिल्मले सुखद व्यापार गरेको जनाइएको छ ।
‘कथा जिरोदेखि हिरोसम्म’को ट्यागलाइन राखिएको यस फिल्ममा अशोक दर्जी, सन्तोष पन्त, रमा थपलिया, सरोज खनाल, नीता ढुंगाना, रमेश विश्वकर्मा, भोला सापकोटा, बुद्दि तामाङ, रवीन्द्र झा, उत्सव सापकोटा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत लगायतको अभिनय रहेको छ । संगीतकारको रुपमा परिचित टंक बुढाथोकीले फिल्मको निर्देशन गरेका हुन् ।

