Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

क्यूएफएक्समा ‘जारी २’ बन्यो सुपरहिट

फिल्मीखबर, काठमाडौं, 2025/11/14

jaari 2

 

गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘जारी २’लाई देशको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले सुपरहिटको मान्यता दिएको छ । शुक्रबार दिउँसो यो चेनले आफ्नो वेबसाइटमार्फत फिल्मलाई उक्त ट्याग दिएको हो । यस वर्ष क्यूएफएक्सबाट सुपरहिट घोषित हुने यो तेस्रो नेपाली फिल्म हो । यसअघि ‘ऊनको स्वीटर’ र ‘जेरी अन टप’ले यो ट्याग पाएका थिए । 

क्यूएफएक्सले आफ्नो चेनमा भएको व्यापारको आधारमा स्वदेशी र विदेशी फिल्मलाई ‘सुपरहिट’ र ‘ब्लकबस्टर’को मान्यता दिने गरेको छ । पहिलो तीन दिन डेढ करोड कमाउने फिल्मलाई ‘ब्लकबस्टर’ र सोही बराबरको कमाइ एक सातामा गर्ने फिल्मलाई ‘सुपरहिट’ घोषित गरिन्छ । यसको मतलब ‘जारी २’ले क्यूएफएक्स चेनमा पहिलो साता डेढ करोडमाथिको व्यापार गरेको छ ।

लिम्बू संस्कृति र सशस्त्र द्वन्द्वको पृष्ठभूमिमा आधारित यो फिल्मको पहिलो साताको व्यापार ५ करोड हाराहारी हुनसक्ने अनुमान गरिएको छ । तर, निर्माण पक्षले फिल्मको व्यापार सार्वजनिक गरेको छैन । फिल्मको व्यापारबारे यकिन तथ्याङ्क सोमबार चलचित्र विकास बोर्डले सार्वजनिक गर्ने बक्स अफिस रिपोर्टपछि स्पष्ट हुनेछ ।

उपेन्द्र सुब्बाको लेखन तथा निर्देशनमा बनेको यस फिल्ममा दयाहाङ राई, मिरुना मगर, दयाहाङ राई, विजय बराल, बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, अनिल सुब्बा,सिर्जना निङ्लेखु, उपेन्द्र सुब्बा लगायतको अभिनय रहेको छ । सञ्जय लामाको छायांकन रहेको फिल्मका निर्माताहरू रामबाबु गुरुङ र मधु मिजार, जीवन गुरुङ हुन् ।