
यस वर्षको पहिलो हिट फिल्म ‘ऊनको स्वीटर’ अब भारतमा पनि प्रदर्शन हुने भएको छ । निर्माण कम्पनी आर्टमान्डुबाट प्रेषित विवरणमा नोभेम्बर २१ अर्थात् मंसिर ५ गतेदेखि भारतमा फिल्म रिलिज हुने उल्लेख छ । भारतको केन्द्रीय फिल्म प्रमाणन बोर्डबाट सेन्सर पास भइसकेको फिल्मको नोभेम्बर २० मा सिक्किममा प्रिमियर गरिने पनि तय भएको छ ।
पहिलो चरणमा भारतको राजधानी दिल्लीसहित नेपाली भाषीहरूको उल्लेख्य बसोबास रहेको दार्जिलिङ, सिलिगुडी, गान्तोक, कर्स्याङ, कालिम्पोङ, आसामसहितका सहरमा फिल्म प्रदर्शन हुने निर्देशक नवीन चौहानले बताए । उनका अनुसार पीभीआर, आइनोक्स जस्ता भारतका प्रतिष्ठित मल्टीप्लेक्स चेनमा फिल्म प्रदर्शन हुनेछ ।
अन्तरजातीय प्रेमकथामा आधारित यस फिल्ममा विपिन कार्की, मिरुना मगर, एलेक्स पारस, परीक्षा लिम्बु, विल्सन विक्रम राई लगायतको अभिनय रहेको छ । चिन्तनराज भण्डारीको छायांकन रहेको फिल्मका गीतमा सुजन चापागाईं र कोविद बज्रले संगीत दिएका छन् । फिल्ममा समावेश ‘फूलहरू मुस्काउँछन्’, ‘मखमली’, ‘काफ्ले’, र ‘चाइनेजो जिन्दगानीमा’ गीत निकै चर्चित छन् ।

