
चर्चित हास्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’को डेब्यु निर्देशकीय फिल्म ‘झरीपछिको इन्द्रेणी’ आगामी पुष ४ गतेदेखि प्रदर्शनमा आउने भएको छ । बिहीबार निर्माण पक्षले सार्वजनिक गरेको गीत रिलिजको ‘काउन्टडाउन’ पोस्टरमा उक्त मिति उल्लेख छ । पुष १० गते परेको क्रिसमस डेको विदालाई लक्षित गर्दै फिल्मको प्रदर्शन मिति तय गरिएको देखिन्छ ।
फिल्मको पहिलो गीत ‘फसायो लमीले’ यही शनिबार सार्वजनिक गरिँदैछ । समीक्षा अधिकारी र वसन्त थापाको स्वर तथा रमेश परियारको शब्द-संगीत रहेको यस गीतको भिडियोमा दीपाश्री निरौला, अञ्जली अधिकारी र प्रदीप लामाले नृत्य गरेका छन् । फिल्मका सबै गीत काठमाडौं महानगरपालिकाका प्रमुख तथा र्यापर बालेन शाहको युट्युब च्यानलबाट सार्वजनिक हुनेछन् ।
अनिशा सेन्दाङ लिम्बू निर्मात्री रहेको फिल्ममा दीपाश्रीसहित गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, सरिता गिरी, निर्मल शर्मा, देशभक्त खनाल, विमोचन दवाडी, जेसिका पोखरेल, कृष्ण सिवाकोटी, कृष्णभक्त महर्जन, अर्जुन घिमिरे, प्रियना आचार्य लगायतले अभिनय गरेका छन् । गणेशले यही फिल्मबाट ९ वर्षपछि अभिनयमा पुनरागमन गरेका हुन् ।
अनु थापा, पंकज खड्का र राम कार्की सह-निर्माता रहेको फिल्ममा निर्देशक घिमिरे स्वयंको कथा लेखन छ भने उनलाई पटकथा तथा संवादमा गणेश कार्की र विशाल घिमिरेले सघाएका छन् । यसमा रोमन बज्रचार्यको पार्श्व ध्वनी, मित्र डि. गुरुङको सम्पादन तथा मौसम हिमालीको कोरियोग्राफी रहेको छ । फिल्मको अष्ट्रेलिया प्रदर्शन अधिकार बिक्री भइसकेको छ ।

