.jpg)
यम शेर्पाको निर्देशनमा बनेको फिल्म ‘मिरमिरे’को पहिलो चरणको पोस्टर सार्वजनिक गरिएको छ । खुसी र निराशको भाव मिश्रित दुई पोस्टरमा फिल्मका चार मुख्य कलाकारलाई प्रस्तुत गरिएको छ । एउटा पोस्टरमा दयाहाङ राई र एक बाल कलाकार निराश मुद्रामा देखिएका छन् । यसबाट फिल्ममा उनीहरू बाबु-छोरीको भूमिकामा रहेको अनुमान गर्न सकिन्छ ।
दोस्रो पोस्टरमा प्रकाश सपूत र सिर्जना निङ्लेखु मुस्कुराइरहेका देखिन्छन् । सिर्जना शिक्षिकाको पहिरनमा देखिएकी छन् भने प्रकाशको पहिरनले उनी शिक्षक हुन् वा विद्यार्थी भन्ने स्पष्ट हुँदैन । यो पोस्टरले उनीहरूबीचको आत्मीय सम्बन्धलाई संकेत गर्छ । समग्रमा दुई पोस्टरले फिल्मको भावनात्मक विविधता, पारिवारिक सम्बन्ध र सम्भावित प्रेमकथालाई दर्शाएको छ ।
आगामी माघ १ गतेदेखि प्रदर्शनमा आउन लागेको ‘मिरमिरे’मा दयाहाङ, प्रकाश र सिर्जनासहित माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ, नमनराज गजुरेल लगायतको अभिनय रहेको छ । यसमा निर्देशक शेर्पा स्वयंको लेखन छ भने आलोक शुक्ला छायाँकारमा छन् ।
यार्सा फिल्म्सको प्रस्तुति रहेको रहेको यस फिल्ममा निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्मातामा रहेका छन् । सह–निर्माताहरू गोविन्द बोहरा, सुदिप कुँवर हुन् । कार्यकारी निर्मातामा वितरक कम्पनी आरआर फिल्म्सका सञ्चालक रोहित कट्टेल रहेका छन् । यसमा भुपेन्द्र अधिकारी र निमेष श्रेष्ठको सम्पादन तथा प्रकाश सपूत र मनोज थापा मगरको संगीत रहेको छ ।

