
सरकारले फागुन २१ गतेलाई प्रतिनिधि सभाको निर्वाचनको मिति घोषणा गरेसँगै यतिबेला नयाँ दल गठनको दौड तीव्र बनेको छ । दिनहुँ निर्वाचन आयोगमा पार्टी दर्ताका लागि निवेदन परिरहेको छ । नयाँ पार्टीहरू खुलेसँगै त्यसमा विभिन्न क्षेत्रका व्यक्तिहरू जोडिरहेका छन् । यसबाट कलाकारहरू पनि अछुतो छैनन् । अहिले एकपछि अर्का कलाकारहरू नयाँ पार्टीमा भित्रिरहेका छन् ।
व्यवसायी एवं बुद्ध एयरलाइन्सका मालिक वीरेन्द्रबहादुर बस्नेत, समाजशास्त्री दिनेश प्रसाईंसहितका व्यक्तिहरू संलग्न ‘गतिशिल लोकतान्त्रिक पार्टी’मा अभिनेत्री तथा निर्मात्री निशा अधिकारी केन्द्रीय सदस्य बनेकी छन् । गत सोमबार मात्र यो पार्टीले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको हो । निशाले अब अभिनयसँगै राजनीतिमा पनि आफू सक्रिय रुपमा लाग्ने बताएकी छन् ।
निशासँगै अभिनेत्री तथा कार्यक्रम उद्घोषिका रीमा विश्वकर्मा पनि राजनीतिमा होमिएकी छन् । ऊर्जा मन्त्री तथा नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले समर्थन गरेको नयाँ दल ‘उज्यालो नेपाल पार्टी’मा उनी आबद्ध भएकी हुन् । उनलाई पार्टीको केन्द्रीय सदस्य बनाइएको छ । रीमाले बुधबार पार्टीको ५१ जना पदाधिकारीको विवरणमा हस्ताक्षर गरेकी हुन् ।
अभिनेत्री एलिजा गौतम पनि नयाँ राजनीतिक दलमा आबद्ध भएकी छन् । बुधबार निर्वाचन आयोगमा दर्ता भएको ‘जनादेश पार्टी नेपाल’को उनलाई केन्द्रीय उपाध्यक्ष बनाइएको छ । उनी यसअघि नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी थिइन् । तर, ६ महिनामै उनले पार्टी परित्याग गरिन् । उनले जनादेश पार्टीले भ्रष्टाचार पूर्ण रुपमा नियन्त्रण गरेर देशमा सुशासन कायम गर्ने बताएकी छन् ।

