.jpg)
नेपालीमा एउटा उखान छ, ‘कहिलेकाहीँ नपत्याउँदो खोलाले पनि बगाउँछ ।’ यतिबेला फिल्म ‘परान’को सन्दर्भमा यो विल्कुलै मेल खाएको देखिन्छ । प्रदर्शनअघि सामान्य आँकलन गरिएको यो फिल्मले अहिले बक्स अफिसमा सुनामी ल्याएको छ । प्रदर्शनको पहिलो दिन शुक्रबार मुस्किलले ६ लाख कमाएको फिल्मले दोस्रो साताको अन्त्यसम्म आइपुग्दा ब्लकबस्टरको बाटो समातेको छ ।
फिल्मले दोस्रो साताको शनिबार एकैदिन १ करोड २० लाख कमाएको थियो । यो प्रदर्शनयताकै उच्च कमाइ थियो । शनिबारपछि पनि फिल्मको व्यापारिक रफ्तार खस्किएको छैन । बरु अझ आक्रामक देखिएको छ । बिहीबार २०९ शोमध्ये दिउँसो २ बजेसम्म फिल्मका डेढ सयभन्दा बढी शो ‘हाउसफुल’ भएका छन् । साँझका शोहरूमा पनि उल्लेख्य मात्रामा टिकट बिक्री भइरहेका छन् ।
गत शुक्रबार प्रदर्शन भएको फिल्म ‘जारी २’ले ‘परान’लाई ठूलो असर गर्ने धेरैले आँकलन गरेका थिए । तर, यतिबेला दृश्य फरक देखिएको छ । ‘जारी २’ले अपेक्षित प्रतिक्रिया नपाउँदा यसका धेरै शो गुमिसकेका छन्, जसको फाइदा ‘परान’लाई भएको छ । पहिलो दिन ६४ शो पाएको यो फिल्मको अहिले २ सयभन्दा बढी शो छ । फिल्मको व्यापारिक रफ्तार हेर्दा शो थप बढ्ने देखिन्छ ।
प्रदर्शनको १० दिनमा ‘परान’को व्यापार ४ करोड नाघिसकेको छ भने दोस्रो सातासम्म ६ करोडको व्यापार हुनसक्ने अनुमान गरिएको छ । यही गतिमा फिल्मको व्यापार कायम रह्यो भने यस वर्षको सर्वाधिक कमाइको कीर्तिमान बनाएको ‘जेरी अन टप’को रेकर्ड केही दिनमा नै तोडिनेछ । कतिपयले ‘पूर्ण बहादुरको सारङ्गी’को कीर्तिमान समेत अब खतरामा रहेको तर्क गरिरहेका छन् ।
यो फिल्मले दर्शकको ठूलो जमातलाई आकर्षित गर्नुको मुख्य कारण यसको भावनात्मक कथावस्तु र कलाकारहरूको अभिनय हो । फिल्ममा बाबु-छोराको सम्बन्धलाई मर्मस्पर्शी रूपमा प्रस्तुत गरिएकाले हलमा दर्शकहरूको रुवाबासी नै चलेको छ । ती भिडियोहरू टिकटकजस्ता सामाजिक सञ्जालमा भाइरल हुँदा त्यसले पनि फिल्मको लोकप्रियता बढाउन ठूलो भूमिका खेलेको छ ।

