
निर्देशक मिलन चाम्सको नयाँ फिल्म ‘सुम्निमा’मा अभिनेत्री हेरफेर भएका छन् । छायांकनका लागि लन्डन समेत पुगेकी उपासना सिंह ठकुरीले टिमसँगको मतभेदका कारण फिल्मबाट बाहिरिने निर्णय गरेपछि उनको ठाउँमा सोल गुरुङलाई प्रवेश गराइएको छ । मंगलबार निर्माण पक्षले उनलाई फिल्मकी मुख्य अभिनेत्रीको रूपमा तस्वीरसहित दर्शकमाझ चिनाएको छ ।
लामो समयदेखि लन्डनमा बस्दै आएकी सोलले यही फिल्मबाट अभिनेत्रीको रुपमा डेब्यु गर्न लागेकी हुन् । उनले केही म्यूजिक भिडियोमा भने अभिनय गरेकी छन् । लन्डनमा उनका केही दृश्यहरू छायांकन भइसकेका छन् भने फिल्मको बाँकी छायांकनका लागि उनी चाँडै नेपाल आउँदैछिन् । यसमा उनको जोडी कुन्साङ बमजनसँग बाँधिएको छ ।
गोर्खा फिल्म्स र चाम्स इन्टरटेन्मेन्टको संयुक्त लगानीमा निर्माण हुने यस फिल्ममा सोल र कुन्साङसहित अनुप विक्रम शाही, धिरेन शाक्य, माओत्से गुरुङ, सुरज तमु, आकाश सुनुवार, सलिना थापा, सुष्मा सुब्बा लगायतका कलाकारहरूको पनि अभिनय रहनेछ । प्रेमकथामा आधारित ‘सुम्निमा’मा राजीव थापाको लेखन छ ।
निर्देशक चाम्सले यो फिल्मको कथा युनिभर्सल भएकाले अन्तर्राष्ट्रिय बजारलाई लक्षित गर्दै निर्माण गरिने बताए । उनको यो ११औं निर्देशकीय फिल्म हो । उनी निर्देशित पछिल्लो फिल्म ‘अञ्जिला’ (बायोपिक) सुपरहिट भएको थियो । उनले यसअघि फरक-फरक शैलीका ‘वीर विक्रम’, ‘हँसिया’, ‘लिलीबिली’, ‘ब्लाइण्ड रक्स’, ‘बबी’, ‘गोर्खा वारियर’ जस्ता फिल्म पनि बनाएका छन् ।

